अमेरिका ८ अप्रिल ।
अदालतमा मुद्दा परेको केही दिनमा एनआरएनए अमेरिकाकाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका तीन जना मध्ये सूर्य लम्साल र सञ्जय थापाले सुनिल साहको उम्मेदवारी अमान्य घोषणा गर्न एनआरएनए आइसीसीलाई संयुक्त निवेदन दिए पछि निर्वाचन हुने वा नहुने भन्ने अन्यौलता छाएको छ । बुधवार बिहान आठ बजे क्षेत्रीय संयोजक आरसी गौरी जोशीलाई प्राप्त भएको निवेदनमा वेबसाइट निर्माणको काम साहले आफू निटक कम्पनीलाई दिएर निर्वाचन प्रभावित बनाउन खोजेको जनाउँदै उनलाई निर्वाचन प्रक्रियाबाट अलग गर्न भनिएको छ ।
आरसी जोशीले निर्वाचनको प्रक्रिया चलिरहेको बेला अध्यक्षका तीन मध्ये दुई प्रतिस्पर्धीबाट आएको निवेदनलाई आफूले गम्भीरताका साथमा लिएको बताए । दूरबिन नेपालसँग कुरागर्दै जोशीले भने “वेबसाइट निर्माण कम्पनीसँग सुनिल जीको सम्बन्ध देखिने आधारहरू दिएर उहाँलाई निर्वाचन प्रक्रियाबाट बाहिर राखिनु पर्ने आशयको पत्र लेख्नु भएको छ । म मिलाएर लाने पक्षमा छु ।”
जोशीले निवेदन दिने दुबै उम्मेदवार निर्वाचन प्रक्रियाबाट अलग भएमा निर्वाचन रोक्ने र आइसीसीको मान्यता नै हटाइदिनसक्ने स्थितिमा पुग्न सकिने बताएका छन् । यस सम्बन्धमा गौरी जोशीको अन्तरवार्ता केही समय पछाडि दूरबिन नेपालमा प्रकाशित गर्ने छौ ।
डेढ वर्ष अगाडि वेबसाइट निर्मार्णको समयमा पनि यो विषय उठेको थियो । कार्यसमिति र वेबसाइट कमिटीले त्यस बेला सबै प्रक्रियाको विषयमा छलफल गरेर निर्माणको काम भयो । त्यसै बेला यो छानबिन भएर टुंगनु पर्थ्यो। सूर्य लम्साल र कार्यसमिति सदस्य सञ्जय थापेको आवाज यति चर्को भएन । अघिल्लो निर्वाचनमा टेक्ससका समाजसेवी जो अहिले एनआरएनएको यस क्षेत्रको हर्ताकर्ता छन् उनैले प्रविधिको दुरुपयोग गरी वेबसाइट नै ह्याक गरेर ३२ सय भन्दा भन्दा बढी नक्कली सदस्य बनाएका थिए । संस्थामा त्यस्ता हर्कत रोक्न यस पटक डोयल भेरिफिकेशन र ७ तहको सुरक्षा घेरा भएको वेबसाइट बनाएको हो । त्यो पनि निर्माण प्रक्रिया र सरभरको विवादमा तानिनु दुखद पक्ष हो ।
समस्या निराकरण गर्नु पर्ने वरिष्ठ उपाध्यक्ष जस्तो पदमा रहेको मानिसले प्रविधिलाई प्रभावमा राखेर चुनावमा जान मिल्छ, तपाइलाई नैतिकताले दिन्छ भनी गरेको प्रश्नमा सुनिल साहले भने “आरोप लगाउन सजिलो छ । प्रमाण दिनुस् । एक मिनेटमा छोड्न तयार छु । पारदर्शिता हिसाबले टेन्डर आह्वान। भेण्डर स्कृनिङ म एक्लैले होइन समितिले गरेको छ । एक पटक होइन दुई पटक टेन्डर मागिएको छ । ब्याकग्राउण्ड चेक गरिएको छ । कार्यसमिति र सबै साथीलाई हामीले पारदर्शी बनाएर देखाएका छौ । समूहमा पटक पटक छलफल गरेर काम गरेका छौ । त्यो कम्पनीसँग मेरो कुनै संलग्नता छैन । राम्रो कामलाई तारिफ होइन अपजस दिने र चुनावी फण्डाका लागि मेरो चरित्र हत्या र संस्थालाई बदनाम गर्ने काम भयो । गत डिसेम्बरमा नै वेबसाइट निर्माण समितिले काम पुरा गरेर कार्यसमितिलाई बुझायो । त्यसपछि वेबसाइटमा मेरो कुनै संलग्नता छैन । वेबसाइट र सरभरको फरक थाहा नहुँदा धेरैलाई वेबसाइटकै कमजोरी हो भन्ने भ्रममा पारिएको छ । सरभर हामीले बनाउँदैनौ । गो ड्याडीसँग किनेको हो ।”
तपाईँ फण्डा भन्नु हुन्छ तपाइको कार्यालयसँग ठेगान कसरी एउटा हुन सक्छ त भनी गरिएको प्रश्नमा साहले भने “अमेरिकामा गुगलमा ठेगान मिल्दैमा सबै कुरा मिल्यो भनेर हल्ला गर्ने हो भने हजारौँ त्यस्तो भेट्न सकिन्छ । कसले कुनै समयमा कहाँ कार्यालय राखेर गएको हुन्छ । गुगल ठेगान मिल्दैमा सबै कुरा एउटै हो भनेर आधार हीन आरोप लगाउनु भनेको चुनावमा मदाताहरुलाई प्रभावित गर्न र निर्वाचन बिथोल्नको लागि मात्र हो भन्ने मेरो बुझाइ छ । मेरो त्यो कम्पनीसँग कुनै सम्बन्ध छैन ।”
तपाइको त्यो कम्पनीसँग सम्बन्ध छैन भनेर आम मानिसले कसरी पत्याउने भनी गरिएको प्रश्नमा साहले भने “हल्ला गर्न बहाना मिलेको वा बनाइएको मात्र हो । त्यहाँ मेरो प्रभाव र सम्बन्ध छैन । कम्पनीले दिएको लिगल डकुमेन्टमा त्यो एड्रेस छैन । मेरो र मेरा आफन्तको कुनै संलग्नता छैन । काम म एक्लैले गरेको होइन । वेबसाइट कमिटी र कार्यसमितिमा यो कुरा बुझ्ने तौलने जाँच्ने र यथार्थ धरातलमा रहेर हेर्ने थुप्रै साथी हुनुहुन्छ । हाम्रो कुनै कहीँ संलग्नता छैन । जाँच बुझ मात्र होइन सदस्यहरूको प्रत्यक्ष उपस्थितमा चुनाव गराए पनि म भारी मतले जित्छु भन्ने विश्वास छ । त्यसैले मलाई बदनाम मात्र गराउन खोजिएको हो ।”
एनआरएनए अमेरिकाको निर्वाचन सङ्ग्राममा उम्मेदवारहरूको मोर्चावन्दि र आरोप प्रत्यारोपमा गौरी जोशीको नाम पनि पनि अगाडि–पछाडि जोडिने गर्छ । यस पटक जोशी केन्द्रमा कुमार पन्तको समूहबाट आगामी निर्वाचनमा सचिव लड्ने तयारीमा रहेको धेरैको बुझाई छ । यसै कारण टिम निर्माण र समूह मिलानमा दौडधुप गरिरहेका छन् । र सँगसँगै यी विवादहरू आइरहेको देखिन्छ । एनसीसीको निर्वाचनमा पक्ष विपक्षमा लागेर विवादमा नतानिनु पर्ने जोशीको दौडधुप र सक्दो हस्तक्षेप गर्ने प्रयत्न धेरैले आइसीसीमा सचिवमा उठ्ने तयारीको रूपमा बुझेका छन् । तर जोशीले यसअघि दूरबिन नेपालसँगको कुराकानीमा ‘आफू आइसीसीको चुनावी तयारीमा नरहेको’ जिकिर गरे । जोशीले टिम निर्माणको समय सहभागी भएर आफ्ना मानिस छिराउने भन्दा पनि मिलाउने प्रयासमा लागेको यस अघि दूरबिन नेपालसँगको कुराकानीमा प्रस्ट गरिसकेका छन् ।
अध्यक्षका उम्मेदवार सुनिल साहको टिम निर्माणमा धेरै दिन कोठे बैठक र कन्फरेन्स कल बैठकमा प्रत्यक्ष सहभागी भएका आरएसी गौरी जोशी टिममा आफ्नो अनुकूलका धेरै मानिस छिराउन नसकेपछि असन्तुष्ट बनेका थिए । सुनिल साहको समूहबाट आफ्नो अनुकूलमा प्रतिनिधि लान गाह्रो हुने उनको बुझाइ पछि जोशी सुनिल साहबाट टाढिँदै गएका हुन् । त्यस पछि समस्या नयाँ नयाँ रूपमा देखिँदै गएका छन् ।
उनले साहको विपक्षमा अध्यक्षका दाबेदार सञ्जय थापा र सूर्य लम्साललाई मिलाएर बलियो समूह निर्माण गर्न प्रयास गरेका थिए । अध्यक्षका दाबेदार सञ्जय थापाले दूरबिन नेपालसँगको कुराकानीमा आरसी गौरी जोशीले सूर्य लम्साल र आफूलाई मिलाउन लागि परेको प्रस्ट गरेका छन् । थापाले भने “मलाई र लम्साल जीलाई मिलाउन गौरी जीले धेरै प्रयास गर्नु भयो । लम्साल जीका लागि मलाई अध्यक्ष छोड्न भन्नु भयो । त्यो मबाट सम्भव छैन ।”
दुई जना मिलाउन असम्भव भएपछि गौरी जोशी कै सल्लाहमा पछिल्ला घटना क्रम विकास भएको उम्मेदवारहरूको विश्लेषण छ । सुनिल साह ‘हराउन सक्ने’ अवस्था मतदान अगाडि निर्माण गर्न जोशीले सम्पूर्ण शक्ति प्रयोग गरिरहेको उनीहरूको बुझाइ छ । तर जोशीले दूरबिन नेपालसँग कुरा गर्दै यस्ता घटना गराउन आफ्नो संलग्नता नभएको र आफूलाई नचिन्नेहरूको आरोप भएको दाबी गरे ।
यी घटनाक्रमको एउटा पक्ष रहेका सञ्जय थापाले दूरबिन नेपालसँग कुरा गर्दै भने “सूर्य लम्सालले अचानक मङ्गलवार दिउसो फोन गर्नु भयो । वेबसाइटको सम्बन्धमा उहाँले तयार पारेको पेपर हेरे । छानबिनका लागि आइसीसीमा पत्र लेखु भएको रहेछ । संयुक्त हस्ताक्षर गरेर पठाऊ भन्नु भयो । छानबिन त राम्रै हो भन्ने लाग्यो । हस्ताक्षर गरिदिए ।”
अध्यक्षका प्रत्यासी सूर्य लम्सालले टेक्सस गएपछि वेबसाइट निर्माण कम्पनीका विषयमा थप कुरा थाहा पाएपछि आइसीसीलाई निवेदन पठाएर छानबिन गरी इन्ट्रेष्ट बाझिने गरी काम भएको देखिएमा साहलाई निर्वाचन प्रक्रियाबाट अलग गर्न निवेदन गरेको बताए । लम्सालले भने “सुनिल साह र ग्रुपले वेबसाइट कमिटी हायर गरेर निर्माणको जिम्मा दिएको कम्पनीमा उहाँको सम्बन्ध देखिन्छ भने उहाँले निर्वाचनमा भाग लिन मिल्दैन भन्ने मेरो कुरा हो । आइसीसीले छानबिन गरेर यसको टुङ्गो लगाओस् ।”
निर्वाचनबाट भाग्न र मुद्दा गरिरहेको पक्षलाई सहयोग गर्न तपाइले यो काम गरिरहनु भएको हो भन्ने कतिपयको बुझाइ रहेको छ नि भनी गरेको प्रश्नमा लम्सालले भने “म अहिले मुद्दा गर्नु पर्छ भन्ने पक्षमा छैन । भविष्यमा यसै भन्न सक्दिन । म मुद्दासँग जोडिने कुरै भएन । म जित्ने उम्मेदवार हुँ । छिटै निर्वाचन होस भन्ने पक्षमा छु ।”
प्रतिक्रिया लेख्नुहोस्:-