अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जंग-उनबीचको बहुप्रतिक्षित शिखर वार्ता आगामी जुन १२ मा सिंगापुरमा हुने निश्चित भएको छ। आज बिहानै ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भेटवार्ताको मिति र स्थान बारे खुलासा गरेका हुन्।
निकै कटुतापूर्ण सम्वन्ध रहेको अमेरिका- उत्तर कोरियाका प्रमुख नेताहरुबीचको भेटवार्ताको लागि गत एप्रिलमा सहमति भएपछि विश्वभरी नै सकारात्मक सन्देश प्रवाह भएको थियो। कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि अमेरिका- उत्तर कोरियाबीचको आगामी शिखर वार्ताले निकै महत्व पाइरहेको छ। चीन र दक्षिण कोरियाका राष्ट्रपतिसंग यस अगावै भेट गरिसकेका उतर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपतिबीच एक-आपसमा निकै कटु आलोचना हुने गरेको परिप्रेक्षमा एप्रिलमा एकाएक ट्रम्पले किमलाई भेट्ने संचार माध्यमहरुमा खबर आए पछि विश्वस्तर मै उत्तर कोरिया-अमेरिका सम्बन्ध सुधारको बारेमा चासो बढेकोछ।
यसैबीच राष्ट्रपति ट्रम्पको किम जंग-उनसंगको वार्ता तैयारीका लागि प्योङ्याङ भ्रमण गरेका अमेरिकी विदेश मन्त्री माइक पोम्पिओको भ्रमणका क्रममा उत्तर कोरियाले नियन्त्रणमा रहेका तीन अमेरिकी बन्दीलाई रिहा गरेर वार्ताको पक्षमा सहज वातावरण बनाउने प्रयास गरेको छ। पोम्पिओसंगै आज बिहान दुई बजे एन्ड्रयू एअरबेसमा आइपुगेका तीन अमेरिकी नागरिकहरुलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प आफैं पुगेका थिए।
अमेरिका र उत्तर कोरिया दुबैसंग मैत्रीपूर्ण सम्वन्ध भएको सिंगापुरमा हुन लागेको ऐतिहासिक शिखर वार्ताको नतिजाले कोरियाली प्रायद्वीपको स्थायी शान्तिको भविष्य निर्धारण गर्ने निश्चित छ।
तस्वीर: रोयटर्स/राष्ट्रपति ट्रम्पको ट्वीटरबाट
प्रतिक्रिया लेख्नुहोस्:-