काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारको सहयोग अस्पताल निर्माणका लागि प्रयोग गर्न आग्रह गरेका छन् ।
गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका थिए ।
उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’
भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उनले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिँदै त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-