गैरआवासीय नेपाली संघ (एनआरएनए)- आइसीसीको अमेरिका क्षेत्रको आयोजना र राष्ट्रिय समन्वय समिति अमेरिकाको सहकार्यमा यही जुन १६ र १७ मा अमेरिकी पर्यटकीय शहर स्यानफ्रनसिस्कोमा हुन लागेको विज्ञ सम्मेलनको तैयारी पुरा भएको एनआरएनए- आईसीसी अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले बताएका छन्। एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदले आगामी अक्टुवरमा नेपालमा आयोजना गर्न लागेको विज्ञ भेला अगाडि यस किसिमको ‘एक्सपर्ट कन्फरेन्स’ पहिलो पटक अमेरिकामा क्षेत्रीय संयोजक जोशीको अगुवाईमा हुन लागेको हो। बेला-बेलामा बिवादित बन्ने गरेको एनआरएनएको यो विज्ञ भेलाका बारेमा समेत केही बिरोधका स्वरहरु सुनिएकै छन्। राम्रो कामको नेतृत्व जसले गरेपनि सहयोग गर्नुको साटो बिरोधका लागि बिरोध गर्नेहरुको सबैले वेवास्ता गरेर अगाडि बढ्नु नै समग्र एनआरएनए र यसमा आबद्द हजारौं गैरआवासीय नेपाली सदस्यहरुको हितमा हुने एनआरएनए अभियन्ताहरुको मत पाइन्छ।
सूचना प्रविधी, जलविद्युत, कृषी प्रविधी, पर्यटन, पूर्वाधिकार विकास लगाएतका करीब ३५ कार्यपत्र प्रस्तुत हुने तैयारी रहेको विज्ञ सम्मेलनले नेपालको बृहत्तर विकास र सम्बृद्धीमा गैरआवासीय नेपालीहरुको संलग्नता र सहभागितालाई थप सघाउ पुर्याउने क्षेत्रीय संयोजक गौरी जोशीले दूरबिन नेपाललाई बताए। क्षेत्रीय संयोजक जोशीका अनुसार
विज्ञ सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिको हैसियतमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सहभागिता जनाउनु हुने भएको छ। यसैगरी वरिष्ठ अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री रेवती प्रसाद भुषाल मुख्य वक्ताका रुपमा सम्मेलनमा सहभागी हुने आयोजकहरुले बताएका छन्। एनआरएनए- आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जिवा लामिछाने लगाएतको सहभागिता हुने निश्चित भैसकेको आयोजकहरुले जनाएका छन्।
विज्ञ सम्मेलन संगसंगै एनआरएनए अमेरिकाको सातौं वार्षिक साधारण सभा समेत हुने भएको छ। एनआरएमए अमेरिकाका प्रवक्ता बिनोद कुमार तिवारीका अनुसार जुन १६ मा संयुक्त उद्घाटन-सत्र पश्चात विज्ञ सम्मेलन हुनेछ भने दोश्रो दिन जुन १७ मा एनआरएनए अमेरिकाको साधारण सभा हुने तय भएको छ। यो पटकको साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन जस्ता स्थायी एजेण्डाका अतिरिक्त विधान शंसोधन, निर्वाचन समिति गठन, कानूनी परामर्श समितिको गठन लगाएतका विषयले समेत प्राथमिकता पाउने प्रवक्ता तिवारीले बताए।
यसैबीच विज्ञ सम्मेलन तथा साधरण सभाका खिलाफमा गत चुनावमा अध्यक्षका प्रत्यासी रबीना थापाले अदालतमा मद्दा हालेको भन्ने अपुष्ट हल्लाहरुका पछि नलाग्न एनआरएनए-आइसीसी उत्तर अमेरिका क्षेत्रका संयोजक गौरी जोशी तथा एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलले आज एक संयुक्त वक्तव्य निकालेका छन्। सम्मेलनको सबै तैयारी सकिइसकेको र गैरआवासीय नेपालीहरुका तर्फबाट हुन लागेको यस्तो महत्वपूर्ण सम्मेलन सफल पार्न सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्न पनि जोशी र पौडेलले आव्हान गरेका छन्।
एनआरएनएका सदस्यहरुलाई सम्वोधन गरिएको विज्ञप्तिमा भनिएको छ-
‘एनआरएनए अमेरिकाको सातौँ साधारण सभा र अाईसीसी अमेरिका क्षेत्रको विज्ञ सम्मेलन पूर्व निर्धारित मिति,समय र स्थानमा हुने कुरामा हामी, सँस्था, समाज र सम्पूर्ण गैरआवासीय नेपालीहरू विश्वस्त र प्रतिवद्ध रहेका छौं l सम्मेलनको सम्पूर्ण तयारी पूरा भैसकेको, सँस्थाका सम्मानित सदस्यहरूले सम्मेलनमा उत्साहपूर्वक भाग लिन होटेल बुक र हवाई टिकेट लिई सक्नु भएको अवस्थामा सामाजिक सन्जाल र सिमित अनलाईन संचार माध्यममा साधारण सभा र बिज्ञ सम्मेलनलाई रोक्न अदालतमा मुद्धा दायर गरिएको अपुस्ट र अनौपचारिक अफवाह फैलाईएका छंन् l यदि यस्ता गलत अभ्यास र प्रयास गरिएको रहेछ भने प्रचलित कानून, सँस्थाको विधि बिधान र सम्मानित सदस्यहरूको भावना अनुकूल संस्था अघि बढ्ने सबै सदस्य, शुभचिन्तक र अभियन्ताहरूलाई सादर जानकारी गराउँछौं l यस्ता गलत प्रकृयाले संस्थाको नियमित गतिविधिलाई अवरोध गर्ने मात्रै हैन यहाँहरूको साधारण सभामा अभिव्यक्त गर्ने भावना, चाहना र आफ्ना मागहरूलाई राख्ने सदस्यहरूको अधिकारलाई कुन्ठित गरिने सँस्थाको ठम्याई छ l सँस्थाको दिगो स्थायित्व, समाजको समुन्नति, मातृभूमिको सम्बृद्धि र सदस्यहरूको सर्वोपरी हक र हितमा कुठाराघात गर्ने यस्ता दुश्प्रयास र गलत अभ्यासको सँस्थाका सबै सदस्य, शुभेच्छुक, अभियन्ता, अग्रज र अगुवाहरू यही जून १६ र १७ मा सनफ्रान्सिस्कोकोमा उपस्थित भै, सकृय सहभागिता जनाई साधारण सभा र बिज्ञ सम्मेलनलाई भव्य र सभ्यरूपमा सफल पारी गलत प्रकृयालाई असफल पार्नु हुनेछ भन्ने कुरामा विश्वस्त छौं l अत: सम्मानित सदस्यहरूले गलत प्रचार,प्रयास र अभ्यासमा विश्वास नगरी सँस्थाको पूर्व निर्धारित मिति, समय र, स्थानमा हुने साधारण सभा र अाईसीसीको बिज्ञ सम्मेलनको लागि यहाँहरूको आफ्नो पूर्व निर्धारित योजना अनुरुप सहभागिता जनाई दिन हुन हामी हार्दिक अपील र अनुरोध गर्दछौं l
अन्त्यमा, व्यक्तिगत स्वार्थ भन्दा माथि उठी सँस्थाको सर्वोपरी स्वार्थको लागि सदस्यहरूको चिन्ता, चासो, असहमति र उपायहरू छंन् भने आउनुहोस् साधारण सभामा, छलफल गरौ र निदानका असल प्रयास गरौ l सहमति, साझेदारी, समझदारी, समन्वय र सहकार्यले सँस्था, समाज र सबै सदस्यको सदैव समुन्नति हुनेछ l जय एनआरएन!
अध्यक्ष पौडेल र क्षेत्रीय संयोजक जोशीद्वारा जारी विज्ञप्तिले विज्ञ सम्मेलन तथा साधारण सभाका विषयमा चलेको अफबाह साम्य भएको अनुमान गरिएको छ।








प्रतिक्रिया लेख्नुहोस्:-