अमेरिका, जुलाई ७,२०१८
फिफा विश्वकप २०१८ अन्तर्गत आज भएको रसिया र क्रोएसिया बीचको अन्तिम क्वार्टर फाइनल खेलमा पेनाल्टी-सुट-आउटमा ४-३ गोलले (टाई-ब्रेकर) क्रोएसिया बिजयी भएको छ। रसियन खेलाडी फर्नान्डिस र स्मोलोभले ‘पेनाल्टी मिस’ गरेपछि क्रोएसिया ४-३ गोलले बिजयी भएको हो। क्रोयसियाली खेलाडी कोभासिकको पेनाल्टी रसियन किपरले रोके पनि जितको लागि त्यो काफी भएन। नियमित ९० मिनेटको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो।
पहिलो हाफको ३१ औं मिनेटमा रसियन फर्वार्ड चेरीसेभले गोल गरेर दिएको अग्रतालाई क्रोएशियाई खेलाडी क्रेम्यारिकले ३९ औं मिनेटमा जवाफी गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याएका थिए। दोश्रो हाफमा दुबै टोलीले गोल गर्न गरेका प्रयास सफल हुन सकेन र खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयको पहिलो हाफ अर्थात १०१ मिनेटमा क्रोएसियाई खेलाडी भिदाले गोल गरेर क्रोएसियाको जीत झण्डै-झण्डै सुनिश्चित गरेका थिए। तर रसियाका खेलाडी फर्नान्डिसले ११५ औं मिनेटमा फ्रि-किकबाट पाएको बललाई हेडर मार्फत गोल गरेर रसियालाई खेलमा टिकीरहन मद्दत गरे र खेल पेनाल्टी-सुट-आउटमा गयो।विश्वकप अघि रसिया र क्रोएसिया दुबै देश खासै फुटबल चर्चामा भएका देश होइनन्। रसिया फिफा बरियतामा ७० औं स्थानमा छ भने क्रोयसिया २० औं स्थानमा।
संयुक्त राज्य अमेरिका १९९४ भएको विश्वकपमा पहिलो पटक सहभागी रसिया २००२, २०१४ र २०१८ मा गरेर चार पटक विश्वकपमा सहभागि भएको रेकर्ड छ।
यसअघि समूह चरणबाट अगाडि जान नसकेको रसियाको यो पटक क्वार्टर फाइनलसम्म जानु नै उसको लागि ठूलो सफलता हो। १९९१ मा विगठन हुनु अघि सात पटक विश्वकपमा सहभागी सोभियत संघले भने पहिलो पटक स्विडेनमा भएको १९५८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो। ईंग्ल्याण्डमा १९६६ मा भएको विश्वकपमा सोभियत संघ सेमीफाइनलसम्म पुगेको थियो र तत्कालिन पश्चिम जर्मनीसंग हारेर चौथो स्थान मै चित्त बुझाउनु परेको थियो।
पेनाल्टीमा आयोजक रसियालाई स्तब्ध पार्दै दोश्रो पटक सेमी-फाइनल पुगेको क्रोएसियाका लागि पनि यो ठूलै सफलता हो। १९९१ मा पूर्व युगोस्लाभियाबाट छुट्टिएपछि १९९८ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाएकै बर्ष तेश्रोस्थान प्राप्त गर्न सफल क्रोएसिया २० बर्षपछि फेरी सेमी-फाइनलमा पुगेको छ र अर्को यूरोपियन मुलुक ईंग्ल्याण्डसंग सेमी-फाइनल भिडन्त गर्दैछ। ईंग्ल्याण्ड पनि ५२ बर्षपछि विश्वकप उचाल्ने हतारोमा छ भने क्रोएसियालाई नयाँ इतिहास बनाउने मोह।
प्रतिक्रिया लेख्नुहोस्:-