ह्युस्टन, टेक्सस अगष्ट १२
प्रवासमा बसेर पनि नेपाली साहित्यका क्षेत्रबाट निरन्तर लागिरहेकी श्रष्टा बिटु केसीको हालै प्रकाशित मुक्तक संग्रह ‘मायाको मात’का बारेमा हिजो आइतवार ह्युस्टनमा एक बिवेचनात्मक कार्यक्रम सम्पन्न भयो। २०५ औं भानु जयन्ती बर्षको सन्दर्भमा नेप्लिज एशोसियसन अफ ह्युस्टनको (एनएएच) आयोजनामा भएको बिवेचनात्मक कार्यक्रमको सह-आयोजना अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ह्युस्टन च्याप्टर, क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस), नेप्लिज हेरिटेज युनियन (एनएचयू) र गुल्मी समाज ह्युस्टनले गरेका थिए।
हालसालै मात्र नेपालमा सार्वजनिक भएको मुक्तक संग्रह ‘मायाको मातका’ बारेमा ह्युस्टनमा पहिलो पटक यस किसिमको संयुक्त साहित्यिक बिवेचना भएको हो। ह्युस्टन मै बसोबास गरिरहेका साहित्यकार, समाजसेवी तथा संचारकर्मीहरुको एउटा समूहले मुक्तककार केसीको मुक्तक संग्रहको चीरफार गरेका हुन्।
ह्युस्टनमा सुनिन थालेका गजल विधामा अग्रसर साहित्यकर्मी सतिष त्रिपाठीले प्रवासबाट प्रकाशित हुने निकै थोरै राम्रा साहित्यिक कृतिमा बिटु केसीको मायाको मात पनि पर्ने बताए। जीवनका बिविध रंगहरु समेटिएको मुक्तक संग्रहको नाम ‘ईन्द्रेणी’ राखेको भए अझ न्याय हुन्थ्यो कि भन्ने तर्क राखेका त्रिपाठीले प्रवासमा नेपाली साहित्यलाई माया गर्नेहरु बिस्तारै बढ्न थालेकोमा खुसी हुँदै भने-‘स्रष्टाको सम्मान हुनु भनेकै नेपाली भाषा र साहित्यको सम्मान हुनु हो।’
कार्यक्रममा अनेसास ह्युस्टन च्याप्टरका अध्यक्ष शेष शर्माले हुस्टनका सबै संस्थाहरुले एकै थलोमा संयुक्त कार्यक्रम गरेर आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्ती मनाउने र साहित्यकार बिटु केसीको मुक्तक संग्रहको बारेमा बिवेचना गर्ने अवसर जुटेकोमा सह-आयोजकहरु सबैलाई धन्यवाद दिए। शर्माले मुक्तक संग्रहमा समेटिएका केही मुक्तकहरु बाचन समेत गरेका थिए।
एनआरएन टेक्सासका सदस्य एवं हस्पिट्यालिटी व्यवसायी जगदीस काफ्लेले साहित्यिक स्रष्टाका रचना पाठकहरुले पढिदिएर र उनीहरुको रचनालाई किनेर प्रोत्साहित गर्नु पर्ने बताएका थिए। काफ्लेले कार्यक्रम स्थल मै २० प्रति मुक्तक संग्रह खरीद गरेर अनेसास ह्युस्टनलाई उपलब्ध गराएका थिए।
त्यसैगरी एनएचयूका अध्यक्ष विदुर दवाडीले नेपाली साहित्य स्रष्टाका रचनाहरुका बारेमा प्रवासमा पनि सार्वजनिक बिवेचना हुनु भनेकै साहित्यिक स्रष्टाहरुको सम्मान हो भनेका थिए। कार्यक्रममा गुल्मी समाज ह्युस्टनका सचिव लक्ष्मण भण्डारील मुक्तक संग्रहमा समावेश सबै मुक्तकहरु उत्कृष्ट रहेको बताए।
यसैगरी ह्युस्टनका संचारकरकर्मी सुजन पण्डितले पनि मायाको मात मुक्तक संग्रहको बारेमा बिवेचनात्मक टिप्पणी गरेका थिए । समग्र जीवन दर्शनलाई समेटेको सर्जक बिटु केसीको मायाको मातमा समावेश १ सय २६ वटै मुक्तकहरुले माया-प्रेम, आवेग, प्रवासमा नेपालीहरुले महशुस गर्ने पीडा, देशप्रेम, प्रकृति प्रेम, विसंगतिहरु प्रतिको बिद्रोह लगाएतका मानवीय जीवन र सासंरिक गतिविधिलाई प्रतिनिधित्व गरेको पण्डितले टिप्पणी गरे।
बिवेचना कार्यक्रममा मुक्तक संग्रकी रचनाकार बिटु केसीले आफ्नो साहित्यिक यात्राका साथसाथै पुस्तकमा समावेश मुक्तकहरुका बारेमा समेत प्रकाश पारेकी थिइन्। मायाले नै जीवनयात्रा चलाउन मद्दत गरेकाले आफ्नो मुक्तक संग्रहको नाम नै ‘मायाको मात’ राखिएको बताएकी केसीले उनलाई निकै मन परेका केही मुक्तकहरु समेत वाचन गरेकी थिइन्।
बिवेचना कार्यक्रमको शुरुमा पुस्तकका प्रकाशक एवं अग्रज पत्रकार तारा बरालले ‘मायाको मात’ प्रकाशन र वितरणका बारेमा बताएका थिए। प्रवासमा रहेर पनि नेपाली साहित्यलाई योगदान दिने साहित्यिक श्रष्टाहरुलाई उनीहरुका प्रकाशनहरु पढिदिएर र किनिदिएर हौसला दिनु पर्ने विषय प्रष्ट्याएका बरालले पाठकहरुले कृतिहरुका बारेमा गर्ने सकारात्मक टिप्पणीले स्रष्टा प्रति सम्मान हुने बताए।
पुस्तक बिवेचना पश्चात कार्यक्रममा सहभागी साहित्य अनुरागीहरु राधा ढकाल , सुम्निमा गौतम, पवित्रा अर्याल र उषा पन्थीले आ-आफ्ना कविता वाचन गरेका थिए। त्यसैगरी विदुर दवाडी र नीलहरि आचार्यले गजल सुनाए भने छ बर्षीया बालिका स्तुति ज्ञवालीले एउटा संस्कृतको श्लोक सुनाएकी थिइन्। अर्का साहित्यनुरागी कमल पन्थीले भानुभक्त आचार्यका बारेमा बताउँदै आफ्ना कविता समेत सुनाएका थिए।
कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पूष्पार्पण र द्वीप प्रज्ज्वलन गरेर गरिएको थियो।

रिचमण्ड (ह्युस्ट)न स्थित पशुपति मन्दिर एवम् सामुदायिक केन्द्रमा आयोजित बिवेचना कार्यक्रमको सभापतित्व एनएएचका महासचिव विष्णु नेपालले गरेका थिए भने सहसचिव द्रोण गौतमले संचालन गरेका थिए। पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्यले सहभागी सबैलाई स्वागत गरेका थिए।




तस्वीर- सुजन पण्डित


















प्रतिक्रिया लेख्नुहोस्:-