काठमाडौं । कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ।
जम्मा १०२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ७ रनले पराजित भयो। नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो। सहजै जित्न सकिने खेलमा नेपाली ब्याटरले फेरि एकपटक निराश बनाए। यो पराजयसँगै पाँच म्याचको श्रृंखला एक म्याचअघि नै जित्ने अवसर पनि नेपालले गुमायो। नेपालको पराजयसँगै श्रृंखला २–२ को अवस्थामा आइपुगेको छ।
टस जितेर केन्याले पहिले ब्याटिङ रोजेपछि नेपाली बलरले अघिल्लो म्याचको कमजोरी सच्याउँदै निकै प्रभावकारी बलिङ गरेका थिए। नेपालको धारिलो बलिङका सामु टिक्न नसकेको केन्याले जम्मा १०१ रन बनाएको थियो।
बलिङमा सन्दीपले टी–२० अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट बलिङ गरे। पाँच विकेट लिएका उनले जम्मा ९ रन दिए। आदिल अन्सारीले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएपछि केन्या धरासायी भएको थियो।
तर, ब्याटरले सहज लक्ष्य पनि भेट्टाउन सकेनन्। ब्याटिङतर्फ नेपालका ओपनरद्वय पवन सर्राफ आज शून्य रनमै आउट भए। डेब्यु खेलमा सबैलाई प्रभावित बनाएका अर्जुन साउद दोस्रो खेलमा ६ रनमा आउट भए।
प्रतिक्रिया लेख्नुहोस्:-