काठमाडौं । भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ३ दिनदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । व्यवसायीले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिएका छैनन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘हालको कार्यक्रमलाई यथावत राख्दै असोज १ गतेबाट राज्यभरका सबै डिपोहरुमा लोडअनलोड नगर्ने पूर्ववत् निर्णय भएको जानकारी गराउँछौं ।’ ढुवानीबापत आयल निगमले आफूहरुलाई दिँदै आएको भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायी विरोधमा उत्रिएका हुन् ।
सरकारले असोज १ देखि दसैंका लागि लामो दूरीमा सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरेको छ । यस्तो बेला व्यवसायीले गरेको अबरोधले इन्धनको अभाव भई सर्वसाधारणलाई मार पर्न सक्ने छ । ०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवालाई अत्यावश्यक वस्तुको सूचीमा राखिएको छ । अत्यावश्यक पदार्थ नियन्त्रण ९अधिकार० ऐनअनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन ।
प्रतिक्रिया लेख्नुहोस्:-