काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताएको छ ।
विधेयकको विरुद्धमा शिक्षकहरु आन्दोलित भएपछि रास्वपा प्रवक्ता डा.मुकुल ढकालले नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयको गुणस्तर उकास्न आवश्यक भएको बताएका छन् ।
ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निश्चय नै शिक्षक जस्तो मर्यादित र अति सम्मानित पेशालाई सरकारबाट कहिल्यै उचित व्यवहार भएन । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्योलमा राखिँदै आएको पाइन्छ । रास्वपाले शिक्षकको तलब सुविधा सबैभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटक पटक आवाज उठाउँदै आएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-