ह्युस्टन, टेक्सस सेप्टेम्वर २४/ नेपाली समुदायले ह्युस्टनमा आफ्नै पशुपतिनाथ मन्दिरको स्वामित्व लिएको एकबर्ष पुरा भएको छ। नेपाली समुदाय कै सहयोगबाट तीन लाख पचास हजार डलरमा किनिएको कृष्ण प्रणामी मन्दिर परिसरलाई नै पशुपतिनाथ मन्दिर तथा सामुदायिक केन्द्रको रुपमा विकास गर्ने योजना अनुरुप मन्दिर व्यवस्थापन समितिले काम अघि बढाईरहेको छ।
नेपाली लगाएत अन्य हिन्दु धर्मप्रति आस्था राख्ने समुदायको आकर्षणको केन्द्र बनाउने अभियान अन्तर्गत मन्दिरमा गणेश, राधा-कृष्ण र दुर्गा भवानीको मूर्ति नेपालबाट झिकाई सकिएको छ। नेपालीहरूका आरध्यदेव पशुपतिनाथको भव्य मूर्ती यस अघि नै मन्दिरको गर्भगृहमा अवस्थित छ । नेपालबाट ल्याइएका भगवानका मूर्तिहरुको प्राण-प्रतिष्ठा पूजा गरेपछि मात्र औपचारिक रुपमा मन्दिरमा पूजाको शुरुवात गर्ने कार्यक्रम मन्दिर व्यवस्थापन समितिले राखेको छ।
ह्युस्टनका नेपाली समुदायमा भने अहिले एउटा फरक उत्साह देखिएको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को अगुवाईमा बृहत्तर ह्युस्टनका नेपालीहरुले पशुपतिनाथ मन्दिर तथा सामुदायिक केन्द्र पाइसकेका छन्। सोही मन्दिरमा भगवानका नयाँ मूर्तिहरुमा हिन्दु वैदिक परम्परा अनुसार प्राण भर्ने पूजा (प्राण प्रतिष्ठा)कार्यक्रमको अहिले सबैले प्रतिक्षा गरिरहेका छन् । समाजसेवी एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य सहित नेपाली समुदायका अगुवाहरुको दिनचर्या अचेल मन्दिरको दीर्घकालीन व्यवस्थापन मै केन्द्रीत भएको देखिन्छ।
यसै क्रममा नेपालीहरुको महान चाड् बढादशैंको अवसर पारेर आगामी अक्टुवरको १० देखि १४ सम्म पाँच दिन मूर्तिहरुको प्राण-प्रतिष्ठा पूजा गर्ने कार्यक्रम तय भएको व्यवस्थापन समितिका सचिव विष्णु नेपालले जनाएका छन्। अक्टुवर १० मा परेको घटस्थापनाका दिन मन्दिरमा जमरा राखेर दुर्गा भवानीको पूजा सहित प्राण प्रतिष्ठाको शुरुवात गर्ने तयारी भैसकेको छ।
मूर्तिको लागत सौजन्य गर्न सकिने
प्राण-प्रतिष्ठा पूजाका दौरान मन्दिरमा स्थापना हुने भगवानका मूर्तिहरुको लागत खर्च सौजन्य गर्न सकिने र प्राण प्रतिष्ठा पूजामा जजमान हुन सकिने व्यवस्थापन समितिले दूरबिन नेपाललाई जानकारी गराएको छ। एउटा मूर्ति सौजन्य गर्न आठ हजार डलर मन्दिर व्यवस्थापन समितिलाई बुझाउनु पर्ने व्यवस्था मिलाइएको सचिव नेपालले बताएका छन्।
प्राण प्रतिष्ठा पूजाको कार्यतालिका
तअक्टुवर १०
बिहान १० बजे- घटस्थापना
बिहान ११ बजे-प्राण प्रतिष्ठा
दिउँसो १ बजे- महा प्रसाद
साँझ ६ बजे- भजन किर्तन
अक्टुवर ११
बिहान १० बजे- देवी कथा
साँझ ६ बजे- भजन किर्तन
अक्टुवर १२
बिहान १० बजे- देवी कथा
साँझ ६ बजे- भजन किर्तन
अक्टुवर १३
बिहान १० बजे- देवी कथा
साँझ ६ बजे- भजन किर्तन
अक्टुवर १४
बिहान ११ बजे- विशेष प्राण प्रतिष्ठा पूजा
बिहान ११.३० बजे- मूर्ति समुदघाटन/अनावरण कार्यक्रम
मध्यान्ह १२.३० बजे- महाप्रसाद कार्यक्रम
सामुदायिक सेवा दिन
यसैबीच व्यवस्थापन समितिले प्राणप्रतिष्ठा पूजा तैयारीका लागि भन्दै आगामी अक्टुवर ७ मा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ‘सामुदायिक सेवा दिन’को कार्यक्रम राखेको छ। समितिले मन्दिर तथा मन्दिर परिसरको पूर्ण सरसफाई, मर्मत-संभार लगाएतका काममा सघाउन र आफ्नै नेपाली मन्दिर र सामुदायिक भवनमा स्वयं सेवा गर्न ह्युस्टनका नेपाली समुदायमा आव्हान गरेको छ। ‘सामुदायिक सेवा दिन’मा पुर्याएको सहयोगलाई विद्यार्थीहरुले आफूलाई आवश्यक ‘सामुदायिक सेवा’मा अभिलेख गराउन सक्ने भएकोले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई समेत सामुदायिक स्वयं सेवाका लागि लिएर आउन व्यवस्थापन समितिले आव्हान गरेको छ।
एक डलर, एक दिन
मन्दिरको दैनिक पूजा तथा सामुदायिक केन्द्रको संचालनका लागि आवश्यक आर्थिक व्यवस्थापन मिलाउन व्यवस्थापन समितिले कसरत गरिरहेको देखिन्छ। यसबाहेक मन्दिर एवं सामुदायिक भवनको गुरु योजनालाई अन्तिमरुप दिने र सोही अनुरुपका निर्माण कार्यको आवश्यक तयारी गर्ने जिम्मेवारी पनि थपिएको छ। मन्दिरलाई नियमित संचालनका लागि ‘एक डलर, एक दिन’ अभियान अन्तरगत दैनिक एक डलर सहयोग गर्न र स्थायी सहयोगी बन्न पनि मन्दिर व्यवस्थापन समितिले नेपाली समुदायमा अपील गरेको छ। एनएएचको वेबसाइटमा भएको विवरण अनुसार हालसम्म दिनकर अमात्य, मधुकर अमात्य, बिनोद श्रेष्ठ, विष्णु नेपाल, द्रोण-सुम्निमा गौतम, रविन्द्र श्रेष्ठ, ज्ञानेश्वर श्रेष्ठ, चेज गुरुंग, शेष शर्मा, सन्जिव न्यौपाने, शेष बराल, कौशल झा, जनक थापा र विनोद श्रेष्ठ सहित १४ जना सामाजिक अगुवाहरु स्थायी सहयोगी अर्थात ‘सस्टेनिंग मेम्वर’ भैसकेका छन् भने थप व्यक्तिहरु स्थायी सहयोगी हुने तरखरमा छन्। एनएएचको वेवसाइटको उल्लेखित लिंकमा गएर सस्टेनिंग मेम्वर बन्न सकिने जानकारी एनएएचका सहसचिव द्रोण गौतमले दूरबिन नेपाललाई गराएका छन्।
http://nahtx.org/community-center/sustaining-members-for-temple
प्रवासका नेपाली समुदायहरुमा आफ्नै मन्दिर र सामुदायिक भवन बनाउने लहर नै चलेको छ। नेपालीहरुको बाक्लो बस्ति रहेको टेक्ससकै अर्को शहर ड्यालास र क्यालिफोर्नियाको लस एन्जलसमा पहिले नै पशुपति तथा वुद्ध मन्दिर एवं सामुदायिक केन्द्र संचालनमा आइसकेको छ भने न्युयोर्क, बोस्टन, डेनभर-कोलोराडो, सानफ्रान्सिस्को तथा अस्टिन लगाएतका शहरहरुमा समेत नेपाली सामुदायिक केन्द्र बनाउने प्रक्रिया शुरु भैसकेका छन्। पण्डित दिनबन्धु पोखरेलको वाचनमा महापुराण लगाएर समेत सहयोग संकलन गरेर अमेरिकी-नेपाली समुदाय नेपाली मन्दिर तथा सामुदायिक भवन बनाउन निकै लागि परेका छन्।
दशैं भोज तथा एनएएचको अधिवेशन
यसैबीच अक्टुवर १३ का दिन दशैं भोज तथा नेप्लिज एशोसियसन अफ ह्युस्टनको अधिवेशन ताज हलमा हुने एनएएचले जानकारी गराएको छ। निर्वाचन समितिका संयोजक तारा बरालका अनुसार १५ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष लगाएत कार्यसमितिका १० जनाको मात्र मनोनयन परेको छ भने कार्यसमितिमा आवश्यक एक सहायक कोषाध्यक्ष र चार सदस्यको मनोनयन नै परेको देखिएन। एनएएचको विधानमा कार्यसमितिमा निर्वाचित हुन संस्थाको आजिवन सदस्य हुनै पर्ने प्रावधानका कारण आवश्यक भन्दा पनि कम मात्रको उम्मेदवारी परेको अनुमान गरिएको छ। कार्यसमितिमा रहेर सेवा गर्ने बिचार गरेका ह्युस्टन कै एक युवा सोही प्रावधानका कारण आफूले उम्मेदवारी दिन नपाएको गुनासो गर्दै थिए। नयाँ कार्यसमितिले विधानको सो प्रावधान संशोधन गर्ने तर्फ ध्यान दिन पनि उनले सुझाएका छन्। स्वयंसेवी भावना भएका र नेपाली समुदायलाई सघाउन चाहने तर आजिवन सदस्य नभएकाहरुलाई पनि समेट्न सके उचित हुने सुझाव पनि उनले दिएका छन्। नयाँ कार्यसमितिको लागि मनोनयन आव्हान हुँदा देखि नै कार्यसमितिमा चुनिन चाहिने न्युनतम योग्यताका सम्वन्धमा गुनासोहरु सुनिन थालेको थियो। नयाँ पदाधिकारीहरुको घोषणा दशैं भोजका दिन ताज हलमा हुने कार्यक्रम रहेको निर्वाचन समिति संयोजक बरालले जानकारी गराएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-