बोष्टन, सेप्टेम्बर २३ । यस समाजका अग्रणी व्यक्तित्व बिष्णु कार्कीलाई पशुपतिनाथ वुद्ध फाउन्डेसन अफ न्यूइंगल्याण्ड (प्याव्फोन) को आइतवार सम्पन्न साधारण सभाले अध्यक्षमा मनोनयन गरेको छ । यस अघिको कार्यसमिति विघटन भएको छ ।
त्यसैगरी वोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्याव्फोनका निर्वतमान अध्यक्ष बिष्णुमणि आचार्यलाई चयन गरेको छ । साधारण सभाले महासचिवमा गौरव थपलियालाई नियुक्त गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सुरेश वाग्ले र उपाध्यक्षमा एलिना श्रेष्ठ र विजय तामांगलाई मनोनयन गरेको छ ।
त्यस्तै, संस्थाको सचिवमा रञ्जन थापा, कोषाध्यक्षमा खगेन्द्र रेग्मी र सहकोषाध्यक्षमा रामकृष्ण पन्त चयन हुनुभएको छ भने प्रवक्तामा परशुराम फुयाँल रहनुभएको छ । सो संस्थाको सदस्यमा किरण खड्का, अञ्जु थापा, दीपक काफ्ले, सुरेश ढकाल, लक्ष्मी खनाल, जालप्रसाद घिमिरे, मिलन कार्की, लव अधिकारी, चिरञ्जीवी आचार्य, राम धिताल, संगीत निरौला, चन्द्रबहादुर मल्ल, चन्द्रदेव मण्डल, दिनेश ढुंगेल, प्रचण्ड श्रेष्ठ, सञ्जय रे, यम पौडेल, चन्द्र पुन र अखण्ड श्रेष्ठ सर्वसम्मतबाट चयन हुनुभएको छ ।
प्याव्फोन स्थापना भएको करिब आठ वर्षको अथक प्रयासपछि दुइ महिना अघि प्याव्फोनले वोस्टन सहरबाट करिब २० मिनेट टाढा व्रेनट्री भन्ने स्थानमा झण्डै १७ लाख डलरमा नेपाली कम्युनिटी सेन्टर खरिद गरेको थियो । उक्त सेन्टरमा पशुपतिनाथ र वुद्ध स्तूपासहितको मन्दिर स्थापना गरी नेपालीलाई अपनत्व गराउनु यसको प्रमुख लक्ष्य हो ।
विगत दुइ दशकदेखि वोस्टनलाई नै कर्मक्षेत्र बनाएर यहाँको सुखदुख र सामाजिक कार्यक्रमहरुमा सक्रिय भएर लाग्नुभएका ५३ वर्षीय कार्कीले यस अघि एनआरएन वोस्टन च्याप्टर र जनसम्पर्क समिति वोस्टनको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । कार्की लायन्स क्लबका पनि अध्यक्ष हुनुहुन्थ्यो ।
नवनियुक्त कार्कीले यस समाचारदातासँग कुरा गर्दै आफ्नो काँधमा ठूलो जिम्मेवारी र चुनौती आएको र यसलाई कुशलतापूर्वक पार गर्न आफूले कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो अब हामीलाई ठूलो चुनौती र जिम्मेवारी थपिएको छ, संस्थाका पदाधिकारीहरुलाई कार्यविभाजन गरी हामी सफल बाटोमा ल्याउन प्रयास गर्नेछौँ । उहाँले आफूलाई साथीहरुले विश्वासका साथ सुम्पेको सदाशयतालाई हल्का रुपमा नलिने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-