तोया दाहाल / दूरबिन नेपाल
अमेरिका । २७ वर्षीय नेपाली युवती सुनिता लिम्बुले सानफ्रानसिस्को स्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गर्नु अगाडि दुई वटा पानामा सुसाइड नोट लेखेको अमेरिकी प्रहरीले फेला पारेको छ । अङ्ग्रेजी भाषामा लेखिएको सुसाइड नोटको प्रहरीले अनुसन्धान गरी परिवारलाई फिर्ता दिएको छ ।
सहयोगी, मिजासिली र हँसिली युवती सुनिताले गत अगस्ट २१ तारिख आत्महत्या गरेको खबर बाहिरिनसाथ सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरू स्तब्ध भए । शोकमा डुबेको परिवार र नेपाली समुदायमा के कारण यस्तो कठोर निर्णय गरिन भन्ने कौतुहलता थियो । धेरै खालका बजार हल्ला र शङ्काहरू व्याप्त भए । कतिपयले त आमा गोमा अधिकारी र बुवा गङ्गा लिम्बुका कारण उनले पीडा सहन गर्न नसकेको हुनसक्ने आशङ्का गरे । शङ्का र हल्लाले परिवारलाई पीडा माथि पिडा थप्दै लग्यो ।
अनुसन्धान प्रक्रिया पुरा गरेपछि अमेरिकी प्रहरीले परिवार भेट्यो । सुसाइड नोट, झुण्डिएको प्रकृति र पोस्टमार्टम रिपोर्टका आधारमा सुनिताले आत्महत्या गरेको अमेरिकी प्रहरीले निष्कर्ष निकालेको छ । मृत्युवरण गर्नु अगाडि सुनिताले लेखेको सुसाइड नोट प्रहरीले परिवारलाई फिर्ता दियो । सुनिताले सूसाइड नोट दुई पटक लेख्न प्रयास गरेको देखिन्छ । पहिलो पानाको बिच भागमा उनले लेख्न शूरु गरेर अपुरो छोडेकी छन् । सानफ्रानसिस्कोमा बस्ने युवा अविशेकको नाम लेखेपछि उनले वाक्य पुरा गर्न सकिनन् ।
दोस्रो पानाको सिरानमा भने उनले मृत्यु वरण गर्नु पर्ने कारण व्यक्ति भएको खुलाएकी छन् । सूसाइड नोटमा लेखिएको छ “अविशेक इज माई रिजन अफ डेथ” अर्थात् ‘अविशेक मेरो मृत्युको कारण हो ।’
बुवा, आमा र परिवारका सदस्यहरूलाई अविशेकको बारेमा कहिल्यै केही नभनेकी सुनिताले सूसाइड नोटमा मृत्युको कारण नै अविशेक भनेर नाम किटान गरेपछि थप खुलदुली भयो । कसैसँगको प्रेम र सम्बन्धको आवेगमा आएर सुनिताले यस्तो गरिन भनेर विश्वास गर्न गाह्रो भए पनि नियतिले स्वीकार गर्न बाध्य बनायो । आमा गोमा अधिकारीले भक्कानिँदै भनिन “छोरीको कसैसँग कुनै सम्बन्ध थियो भन्ने हामीलाई थाहा थिएन । हामीलाई कुनै तनावमा भएजस्तो पनि देखाइनन् । अघिल्लो दिन मात्र साथीहरूसँग उसले रमाइलो भेटघाट गर्दै फोटो खिचाएर फेसबुकमा राखेकी थिइन ।”
नपुग्दो केही थिएन । अमेरिकामा रेस्टुरेन्ट म्यानेजर भएर काम गरिरहेकी सुनिता परिवारसँगै बस्तै थिइन । विश्वको महाशक्ति र वैभवको देश अमेरिकामा बस्दा पनि सङ्गत, सोच र मनस्थितिले मानिसलाई अप्रिय बाटोमा हिँडाउन सक्छ भन्ने यो एउटा दुखद दृष्टान्त हो । जीवनको उत्तरार्धमा हिँडिरहेका बुवा गङ्गा लिम्बु बुढेसकालमा सहारा दिने जवान छोरी गुमाउँदाको पीडाले अहिले पनि तङ्ग्रिन सकेका छैनन् । सन्तानको वियोगमा रहेका लिम्बुले दूरबिन नेपालसँग कुरा गर्दै भने “मेरो छोरीलाई यस्तो अवस्थामा पुर्याउने व्यक्तिलाई कानुनी कारबाही गराउन सकिन्छ की सकिँदैन भनेर साथीभाइहरूसँग सल्लाह गरिरहेको छु । परदेशमा दुख गरिरहेका अरू नेपाली परिवारले मेरो जस्तो सन्तानको वियोग सहनु नपरोस् भन्ने मेरो चाहाना छ ।”
सुसाइडको कारण
सानफ्रानसिस्कोमा बस्ने नेपाली युवा अविशेक लकन्द्री र सुनिता लिम्बु बिच डेढ वर्ष अगाडि देखि नै सम्बन्ध नजिकदै गएको देखिन्छ । सुनिताको फेसबुक म्यासेन्जरमा सुरक्षित रहेको म्यासेज अध्ययन गर्दा घटनाको कारण जो कोहीले सहजै अनुमान गर्न सक्छ । दुई जना बिचमा एक अर्काको शारीरिक बनौट देखि अरू थुप्रै योजनाका विषयमा रोचक संवाद भएको भेटिन्छ । अविशेक नेपाल गएर अर्को केटीसँग सम्बन्ध बढाए पछि भने परिस्थिति उल्टो भयो ।
एकाएक अबिशेक टाढिन खोज्ने तर सुनिता संवन्धबाट अलग हुन नदिने शैलीका लिखित संवाद म्यासेन्जरबाट आदान प्रदान भएको छ । पुरानै अवस्थालाई निरन्तरता दिलाउन सुनिताले हर प्रयास गरेकी छन् । अविशेकलाई आत्महत्या गर्न सक्ने मनस्थितिमा पुगेको आवेशपुर्ण चेतावनी पनि दिएकी छन् । लिखित संवादमा दुवै पक्षले संयमता गुमाउँदै गए । सुनिताले घरको पङ्खामा सल बाँधेर ‘यसैमा झुन्डिएर मर्छु’ भनेर पङ्खा र सलको फोटो समेत पठाएकी छन् । जवाफमा अविशेकले ‘मर्नु एक मात्र उपाय भए मर’ भन्ने लिखित जवाफ दिएका छन् ।
लिखित संवादको बिचमा फोन संवाद र फेरी लिखित संवाद चलिरहेको भेटिन्छ । फोन संवादमा पनि सुसाइडको विषयमा कुराकानी भएको हुनसक्ने देखिन्छ । लिखित संवादमा अविशेकले सुसाइडको कुरा गरेर आफूलाई ‘ब्ल्याक मेल’ गरेको आरोप लगाएका छन् ।
‘प्रहरी र आकस्मिक सेवाको ९११ र सुसाइड अर्गनाइजेशनलाई खबर गरेको’ अविशेकले पठाएको म्यासेजमा देखिन्छ । तर अविशेकले उनलाई जोगाउन परिवारका सदस्यलाई भने जानकारी गराएको देखिँदैन । दुई जना बिचको सम्बन्ध र पछिल्ला खराब संवादबाट थपिँदै गएको मानसिक तनावले सुनिता अप्रिय निर्णय गर्ने मनस्थितिमा पुगेको अनुमान लगाउन गाह्रो छैन ।
लिखित संवादमा सुनिताले एक महिना आफूलाई साथ दिन आग्रह गरेकी छन् । अविशेकले त्यसलाई अस्वीकार गर्छन् । सुनिताको यस्तै स्वभावले अरूसँग सम्बन्ध बिग्रिएको आरोप अविशेकले लगाएका छन् । सपना टुटेर बेचैन बनेपछि मानसिक रूपमा कमजोर देखिँदै गएकी सुनिता सम्बन्ध तोडिएर बाच्नु भन्दा भौतिक रूपमा अलग हुने निष्कर्षमा पुगेको देखिन्छ । अविशेकले सुनिताको भनाइलाई धम्कीको रूपमा नलिई उनको तनाव कम गर्ने प्रयास गरेको भए सायदै यो परिस्थिति आउने थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-