काठमाडौँ, २० कात्तिक \ पूर्वाधार अभावका कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदले आठौँ राष्ट्रिय खेलकुद दुई महिना पछि सारिएको जनाएकाे छ । मंसिरमा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको राष्ट्रिय खेलकुद अब माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको परिषद्का सदस्यसचिव केशवकुमार विष्टकाे भनाइ छ ।
अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद्काे बोर्ड बैठकले मंसिर अाठ गते नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
“समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ, दुई महिना पर सार्दैमा केही फरक पर्दैन,” सदस्यसचिव विष्टले भने । नयाँ मितिमा भने प्रतियाेगिता भएर छाड्ने उनकाे दावी छ ।
“मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौँ, तर राष्ट्रिय खेलकूद चाहिँ कन्फर्म तोकिएकै मितिमा हुन्छ, सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।”
उहाँले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पनि छ मिहना सार्ने प्रस्ताव गरेको जानकारी दिए ।
साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । “ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौँ, यसबारे छिट्टै निर्णय हुन्छ, आगामी सेप्टेम्बर महीनामा १३औँ साग आयोजना गर्छौैं ।”
भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ ।
सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि विष्टले वताए । दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकूद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो ।
युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले पूर्वाधार निर्माणकै कारण प्रतियोगिता दुई महीना पर सारिएको स्पष्ट पारे ।
उनले भने , “प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखियो, अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सारिएको हो ।”
पूर्वाधारको सम्पूर्ण निर्माण कार्य माघ दोस्रो सातासम्म सक्ने गरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारका तर्फबाट उपलब्ध गराइसकिएको उनकाे भनाइ छ ।
सङ्घीय संरचनाअनुसार प्रतियोगिता
अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउने चलन थियो । तर देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ ।
आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकूद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ ।
राससकाे सहयाेगमा
–––








प्रतिक्रिया लेख्नुहोस्:-