काठमाडौं । भारतसँग पछिल्लो समय लिपुलेक र कालापानीका विषयमा बल्झिएको विवाद कुटनैतिक प्रयासबाट सुल्झाउनु पर्ने सुझाव विभिन्न दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अबेरसम्म चलेको सर्वदलीय बैठकमा सहभागि विभिन्न दलका नेताहरुले अहिले देखिएको विवाद भारतसँगको संवादबाट सुल्झाउन सकिने बताएका हुन् । भारतले केही साता अघि जारी गरेको आफ्नो नयाँ नक्शामा नेपाली भूमी लिपुलेक र कालापानी आफ्नो क्षेत्रमा गाभेपछि सुरु भएको विरोध प्रदर्शन र आलोचना पछि प्रधानमन्त्री ओलीले शनिवारका लागि बैठक बोलाएका थिए ।
बैठकमा सहभागि भएका बाबुराम भट्टराइले अहिले उत्पन्न विषयमा नेपाली प्रधानमन्त्री केपी ओलीले आफ्ना भारतीय समकक्षीसँग प्रत्यक्ष रुपमा कुरा उठाउन पर्ने सुझाव दिएका छन् । विगतमा परराष्ट्र सचिवको आयोग बनाएर वार्ता पनि गरिएको थियो तर ती प्रभावकारी भएनन् । अब दुई देशका प्रधानमन्त्रीबीच नै यस विषयमा छलफल हुनुपर्छ, भट्टराइले बैठकबाट निस्केपछि भने ।
भारतले अघिल्लो साता निकालेको नयाँ राजनैतिक नक्सामा नेपाली भूभागहरु भरतीय भूमीमा गाभिएको देखिएपछि नेपालमा भारत विरोधी प्रदर्शनका लहरहरु सुरु भएका छन् । विभिन्न राजनैतिक संगठनका विद्यार्थी भातृसंगठनले दिनहुँ राजधानी काठमाडौंमा विरोध प्रदर्शन आयोजना गर्ने गरेका छन् । अघिल्लो हप्ताको साप्ताहिक प्रेस सम्मेलनका क्रममा भारतीय विदेशमन्त्रालयका प्रवक्ताले यही विषयमा सोधिएको प्रश्नमा नेपाली भूमी भारतीय क्षेत्रमा नपरेको दाबी गरेका थिए ।
फोटो रासस
प्रतिक्रिया लेख्नुहोस्:-