काठमाडौँ, २९ कात्तिक: नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल एशिया च्याप्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गर्नुभएको थियो ।
सो अवसरमा मानवअधिकार क्षेत्रका अगुवा कृष्ण पहाडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले विशिष्ट योगदान पुर्याएकाले समाजका विकृति तथा कमीकमजोरीलाई उजागर गर्ने सम्बन्धमा हीनताबोध गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । “जोस् र होसको समन्वय गरेर मात्र हामीले पत्रकारितालाई अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रेसलाई शक्तिको रुपमा लिएर राजनीतिक दलले बटुवा र लौरोका रुपमा हेर्दैआएका छन्, त्यसलाई सुधार्न आवश्यक छ, सञ्चार जगत्ले राजनीति मात्र होइन, अब वातावरण सुधार र संरक्षणमा कलम चलाउनुपर्छ ।”
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारिता भनेको व्यावसायिक र लेख्यकला मात्र नभएर सत्यको उजागर गर्ने माध्यम भएकाले समाजमा माथिल्लो तहमा बस्नेको कमीकमजोरीलाई जनतासामु पुर्याउने काममा सम्पादक सिवाकोटीबाट सहासिक कार्य भएको भनि प्रशंसा गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व सम्पादक सिवाकोटीले मुलुकमा स्वतन्त्र पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने प्रश्न कायमै रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको पुरस्कारको रकममध्ये रु २५ हजार सुर्खेतका पत्रकार स्व डिलप्रसाद शर्माको परिवारलाई उपलब्ध गराउन जानकारी उहाँले दिनुभयो । शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको थियो । लेखन कुञ्जका निर्देशक कमल ढकालले पत्रकारिता समाजको निकै सम्मानित र सहासिक पेशा भएको हुँदा समाजका विकृति र कमीकमजोरीलाई बाहिर ल्याउने व्यक्तिको सबैले प्रशंसा गर्नु जरुरी भएको बताउनुभयो । आयोजक संस्था एशिया च्याप्टरका अध्यक्ष टङ्क पन्त र ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा लुकेर रहेको विकृति र विसङ्गतिसम्बन्धी सत्यतथ्य उजागर गर्ने मामिलामा पत्रकारिता क्षेत्र सधैँ चनाखो हुुनुपर्छ भन्नुभयो ।
रासस
प्रतिक्रिया लेख्नुहोस्:-