काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको फाइनलका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा दुई टोलीबीच खेल हुने समय तालिका रहेको छ ।
यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २–० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।
अर्जेन्टिनालाई क्रोएसियालाई ३–० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो। शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान पक्का गरेको छ। १९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेको थियो।
अर्जेन्टिनाले १९७८ मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई हराउँदै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। १९९० र २०१४ मा अर्जेन्टिना जर्मनीसँग फाइनलमा हारेको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। योसँगै अर्जेन्टिना छैटौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो।







प्रतिक्रिया लेख्नुहोस्:-