वालिङ, ६ पुस । भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएका युवालाई भिरबाट लडी मृत्यु भएको भनी भ्रमात्मक सन्देश फिजाउने तथा घटनामा शङ्कास्पद रहेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्करप्रसाद आचार्यका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका–६ चिर्तुङमा शिकार खेल्न जाने क्रममा भरुवा बन्दुकको छर्रा लागि घाइते भएका गल्याङ नगरपालिका–६ का १९ वर्षीय तिलबहादुर फुङ्जालीको गत मङ्सिर १८ गते मृत्यु भएको थियो ।
प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनामा शङ्कास्पद रहेका गल्याङ–६ का २८ वर्षीय कृष्णबहादुर रखाली, सोही ठाउँका भीमबहादुर थापा, छकबहादुर थापा र रोमबहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो भने अन्यको खोजीकार्य जारी रहेको जनाइएको छ ।
“तिलबहादुरको मृत्यु बन्दुकको गोलीको छर्रा लागि नभई भीरबाट खसेर भएको भनी झुटा विवरण बनाई लासलाई बाटोमा नै बाँधेर भोलिपल्ट बिहान मृतकको घरमा लगेको अनुसन्धानबाट देखिन्छ”, प्रहरी निरीक्षक आचार्यले भन्नुभयो, “मृत्युको विषयमा केही शङ्का लागेपछि हामीले प्रहरी टोली परिचालन गरी चितामाथि राखेको लासलाई जलाउन रोकेर शव परीक्षण ग¥यौँ जहाँ मृत्युको कारण गोलीको छर्रा भएको खुल्न आयो ।”
पक्राउ परेका सबै जनालाई ज्यानसम्बन्धी कसुरको कर्तव्य ज्यान मुद्दाका लागि जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट झाडीभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान बरामद गरेको छ ।
(रासस)






प्रतिक्रिया लेख्नुहोस्:-