काठमाडौँ, २५ असार / प्राकृतिक सम्पदाले परिपूर्ण नेपालका जनतामा गरीब छाँै भन्ने मानसिकता सधैँका लागि बदल्न बाटो देखाउने सन्देश समेटिएको ‘जीवन यात्रा’ नामक पुस्तक आज सार्वजनिकीकरण भएको छ ।
घोस्ट राइटिङ नेपालले प्रकाशनमा ल्याएको लेखक अरुणकुमार सुवेदीको उक्त कृतिको आज यहाँ आयोजित समारोहमा वरिष्ठ सञ्चारकर्मीले सार्वजनिकीकरण गर्नुभएको हो । लेखक पुस्तकमा भन्नुहुन्छ, “हामी सुनखानीमा सुतिरहेका छौँ, तर हामी गरीब छाँै भनेर खाडीका देशमा कुदिरहेका छौँ, यो कस्तो विडम्बना हो, अब हामी सबैले मुलुकभित्रका खानी र खनिजको खोजतलास गर्नुपर्छ र प्रयोगमा ल्याउनुपर्छ ।”
भूगर्भविद् तारानिधि भट्टराईले लेखकले मुलुकका विभिन्न क्षेत्रको भ्रमण गरेर देखेका र भेटेका अमूल्य खनिज र धातुबारेमा समेटिएका सूचना प्रमाणयोग्य र ओजपूर्ण हुन सक्ने धारणा राख्नुभयो ।
‘नागरिक’ दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले पूर्वी पहाडको तत्कालीन जनजीवन, सामाजिक परिवेश र बोलीचालीका शब्द राखेर प्रकाशित पुस्तकबाट थु्प्रै सूचना प्राप्त गर्न सकिने विचार प्रकट गर्नुभयो ।
‘थाहाखबर डट कम’का प्रधानसम्पादक तीर्थ कोइरालाले सन् १९६० को दशकपछिको नेपाली समाज, भूगोल र सामाजिक परिवेश समेटिएको पुस्तकमा लेखक स्वयम् विचारका हिसाबले बगिरहेको देखाए पनि ‘केही गरौँ’ भन्नेका लागि पुस्तकले बाटो देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा लेखक लपन छपन गर्दैन, अन्याय पनि सहदैन भन्ने सन्देश छ, कसले के भन्ला भन्ने संकोच मानेको देखिन्न । पुस्तकले इतिहास बोकेको छ ।”
पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर केसीले पुस्तक अध्ययनपछि तत्कालीन तेह्रथुमको नालीबेली तथा मुलुकका विभिन्न भागको खनिजपदार्थका बारेमा जानकारी पाइने छ भन्नुभयो । घोस्ट राइटिङ नेपालका सम्पादक टंक पन्तले पुस्तक पढ्दा खोलाको पानीजस्तै बगेको अनुभव भए पनि कतिपय शब्दलाई भने सुधार गरी समयानुकूल तुल्याउन आवश्यक रहेको सुझाव दिनुभयो । मुलुकका विभिन्न भागमा रहेको बहुमूल्य पत्थर एवं खनिजको खोजअनुसन्धानका साथै राजनीतिक, आर्थिक, धार्मिक विषयवस्तु पनि उक्त पुस्तकमा समेटिएका छन् । रासस



प्रतिक्रिया लेख्नुहोस्:-