मानवको पुकार
१.सत्ययुग, त्रेतायुग, द्वापरयुग
युुगौंदेखि हामी मानव जातिले,
एक होइन अनेकौं
धर्मग्रन्थमा पढ्दै आएका छौं
मानव जातिको संहारका कथाहरु ।
२.
आज पनि भोग्दैछौं
मानव संहारका घटनाहरु
ससाना युद्ध
अनेक युद्ध
पहिलो विश्वयुद्ध
दोस्रो विश्वयुद्ध
युद्धको चक्रव्युहमा पिल्सिरहेका छौं
चामल पिसिएजस्तै
तर
कलियुगको यो उत्तराद्र्धमा
लडाईं मात्र हैन
भोग्दैछौं भयङ्कर माहामारी पनि ।
३
दोस्रो विश्वयुद्धको भयावह परिणामलाई,
तुच्छ ठानी, केही मानव समूह
आज फेरि लडाईं गरेर मानव संहार गर्दैछन्
विवेकशील भनिएका मानवहरु
दानवशील मानवको रूप लिएर
हत्या र हिंसाको उन्माद बोकेर ।
४
हत्या र हिंसाको उन्मादले
प्रकृतिमाथिको अत्याचारले
वर्ष २०१९ को अन्त्यदेखि शुरू भयो
“कोरोना – १९” को ताण्डव नृत्य
मानव संहारको भयावह रुप ।
५
हे विवेकशील मानव भनिएकाहरु
त्यागौं हत्या र हिंसालाई
रोकौं प्रकृतिमाथिको ताण्डव नृत्य
आत्मसात् गरौं मानवतालाई
जलचर, थलचर, नभचर र उभयचर
सबैको भलो सोचौं
सर्वे भवन्तु सुखिनं
सर्वे सन्तु निरामया
सर्वे भद्राणी पश्यन्तु
मा कश्चीत दुःख भागेवत ।
समस्त मानवको मन
मष्तिष्क र हृदयमा छाइरहोस्
विश्व नै “बसुदैव कुतुम्वकम्” को
एकै मालामा उनेर देखाउन सकोस्
यही मानवको पुकार होस्
यही मानवको पुकार होस्
यही मानवको पुकार होस् ।
-रीतादेवी प्रधान जोशी रुमाठ
प्रतिक्रिया लेख्नुहोस्:-