छटपट छटपट भयो मेरो मन
लटपट लटपट भयो मेरो तन
धरमर धरमर भयो मेरो दृष्टि
तरर तरर बग्यो मेरो आँसु
खल खल बग्यो मेरो पसिना
मसिनो मसिनो भयो आवाज पनि
अगि अगी सर्न खोज्छु
तर
पछि पछि हिंड्छ पाइला
उज्यालो भनी पछयाइ पछयाइ जाँदा
अन्धकारमा पो पाएँ म आफैलाई
भ्रम रहेछ यो बाहिरको उज्यालो
खोल्नुपर्ने त भित्री आँखा पो रहेछ
भित्री आँखा खोलेर हेर्दा
एउटा सुनौलो किरणको आभा पाएँ
रात पछि दिन आउँछ
निराशाबाट आशा झल्किन्छ
संघर्षबाट सफलता भनी
बुझाएँ आफूले आफैलाई
अनि त आफूभित्र
अवतरित भएको पाएँ सुनोलो आकाश
आफूभित्र सुनौलो आभा
अवतरित भएको अनुभव गरँ।
)००
मृत्युलोक
म को हुँ ?
तिमी को हौ ?
हामी को हौं ?
तिनीहरु को हुन् ?
यस्तै यस्तै को हो ? को भुमरीमा
रुमलिरहेका छौं हामी
रमाइरहेका छौं हामी ।
रुमलिरहनु र रमाइरहनुमा नै हामी
फनफनी घुमिरहेका छौं हामी
यही हो जिन्दगी भनी
बाँचिरहेका छौं हामी ।
खासमा हामीले
न आफूलाई चिन्यौ
न अरुलाई नै चिन्न सक्यौ
बाँच्नु के हो थाहै पाएनांै ।
बाँच्नु भनेको
आफूलाई चिन्नु हो
अरुलाई चिन्नु हो
दुःखै दुःखको यो भवसागरलाई
सुख र शान्तिको तलाउ बनाउनु हो
यो मृत्युलोकलाई
स्वर्गलोक बनाउनु हो ।
-रीतादेवी प्रधान
प्रतिक्रिया लेख्नुहोस्:-