अष्टिन, टेक्सास
नोभेम्वर २९
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सास राज्यको अस्टिन सहरमा रहनुभएका समुदायसँग समुदाय र पत्रकारको अन्तरसम्बन्ध अभिवृद्धि एवं सूचना प्रवाहमा सहजताका सम्बन्धमा केन्द्रित रहेर ‘नेजा–समुदाय अन्तरक्रिया’ गरेको छ । गत आइतबार ग्रेटर अस्टिन नेपाली सोसाइटीको भवनमा आयोजित कार्यक्रममा विभिन्न पेसा एवं व्यवसायमा आबद्ध व्यक्ति र पत्रकारबीच अन्तरक्रिया गरिएको हो ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपालीहरूको बढ्दो जनसंख्याका साथै यहाँको रहनसहन, परिवेशमा हाम्रो समाजलाई सहभागी गराउन र जीवनयापन सहज बनाउनका लागि दोस्रो पुस्तालाई कसरी आकर्षित गर्ने र सहभागी बनाउने जस्ता विषयमा छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो ।
समुदायका अगुवाहरूले समाजमा भएका गतिविधि एवं आवश्यक सूचना प्राप्त गर्न नसकेको गुनासो गर्नुभएको थियो । यसै क्रममा उपस्थित पत्रकारहरूले समुदायमा गरिने गतिविधि एवं कार्यक्रमका बारेमा सम्बन्धित व्यक्ति एवं संस्थामार्फत आवश्यक सूचना प्राप्त गर्न नसकिएको गुनासो गरेका थिए ।
कार्यक्रममा समग्र अस्टिनवासीको प्रतिनिधित्व गर्दै अग्रज चलचित्रकर्मी, पत्रकार एवं नेजाका सदस्य नारायण पुरीले समुदायले नेजामार्फत गरेका अपेक्षा, पत्रकारसँगका गुनासो, सल्लाह एवं सुझावका बारेमा प्रकाश पार्नुभएको थियो । पुरीले पत्रकार तथा सञ्चारमाध्यमले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा सबैलाई समान व्यवहार एवं समान रुपमा समेट्न पनि आग्रह गरेका थिए ।
यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकाभर रहनुभएका विशेषगरी नेपाली समुदायलाई आवश्यक पर्ने सूचना एवं समुदायले गर्ने कार्यक्रमका बारेमा सूचना सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन कठिनाइ हुन सक्ने हुँदा सम्पूर्ण व्यक्ति एवं संघ–सस्थालाई आफूले गर्ने कार्यक्रमका बारेमा सङ्कलन गरिएका सूचना नेजालाई उपलब्ध गराइदिनुभएमा नेजाको तर्फबाट उत्तर अमेरिकाबाट सञ्चालित सम्पूर्ण सञ्चारमाध्यममा प्रवाह गर्ने जानकारी दिए । अध्यक्ष भण्डारीले नेजाले आगामी दिनमा आफ्नो विद्यमान दायरा र भूमिकालाई समुदायको आवश्यकता र समयको मागबमोजिम फराकिलो बनाउँदै अमेरिकामा रहेका दोस्रो पुस्तालाई सक्रिय रुपमा सहभागी गराउन आफू लागिपर्ने बताए ।
यस्तै, नेजाका महासचिब बाबुराम दाहालले कार्यक्रम सञ्चालन गर्ने क्रममा नेजा आफैंमा सञ्चारमाध्यम नभएको तर उत्तर अमेरिका रहेका सम्पूर्ण सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको साझा संस्था भएको हुँदा नेजालाई प्राप्त सूचना एवं समाचारलाई सबै सञ्चारमाध्यममा प्रवाह गर्ने मध्यस्थकर्ताको भूमिका खेल्ने बताए । साथै, दाहालले नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै नेजाले आफ्नो दायरा एवं भूमिकालाई समयानुकूल विस्तार गरिँदै जाने उल्लेख गरे ।
नेजाका सचिव प्रतिमा बाँस्कोटाले स्वागत तथा कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् भने कार्यसमिति सदस्य झरना अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायलाई आवश्यक पर्ने सूचना तथा समाचार समेटेर नेजालाई छुट्टै मुखपत्र प्रकाशन गर्न पनि सुझाव दिएका थिए ।
कार्यक्रममा ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, पूर्वअध्यक्ष गेहेन्द्र केसी, एनआरएनए आईसीसी सदस्यद्वय पदम ठकुराठी र महेश रेग्मी, एनआरएनए एनसीसी अमेरिका बोर्ड अफ डाइरेक्टर मोहन कुसारी, पूर्वकोषाध्यक्ष एवं अनेसास बोर्ड अफ ट्रष्टी नेत्रबन्धु पोखरेल, एनआरएनए एनसीसी टेक्सास च्याप्टर सचिव मासुमा कार्की, कोषाध्यक्ष विनोद साह, एनआरएनए अभियन्ता प्रदीप चौलागाईं, कौशल यादव, सामाजिक अभियन्ता दीपक हुमागाईं, समाजसेवी शेखर यादव, धिरेन्द्र यादव, शिव न्यौपाने, विदुर ढुंगाना, अजय बस्नेत, चन्द्रमान लिंखा, अशोक साही, दिपेश भण्डारी, रोशन बुढाथोकी, क्षितिज लोहनीलगायतको उपस्थिति रहेको थियो । यसैगरी, पत्रकार एवं नेजाका सदस्य शम्भु दवाडी, रवीन पिया, नारायण भण्डारी, भीषण न्यौपाने, दिपक गुरुङ, अवि ओलीलगायतको उपस्थिति रहेको थियो ।
आमसमुदायलाई आफूले गर्ने कार्यक्रम एवं आवश्यक सूचना उपलब्ध गरानका लागि नेजाको आधिकारिक इमेल लभधक२लभबवबगकब।यचन रहेको नेजाका महासचिव दाहालले बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-