काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगका भरमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् । इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’
शर्माले एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएको उल्लेख गर्दै उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासात गर्नुहुनेछ र संसदलाई नियमित र विधिसम्मत काम गर्न दिनुहुनेछ ।’
नेतृत्वको विधिसम्म कार्य गर्न जरुरी रहेको भन्दै शर्माले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला कांग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भए पनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका थियौँ ।’






प्रतिक्रिया लेख्नुहोस्:-