मेरिल्याण्ड राज्यको सेन्ट मेरिज काउण्टीमा रहेको ग्रेट मिल्स हाइस्कुलमा आज बिहान गोली चलेको छ। स्थानीय काउण्टी सेरिफ तथा विद्यालय प्रशासनका अनुसार स्कुलकै एकजना केटा विद्यार्थीले अर्की केटी विद्यार्थी माथि गोली प्रहार गरेको जनाइएको छ। गोली हान्ने विद्यार्थीलाई सुरक्षाकर्मीले पनि गोली प्रहार गरेको र नीज आक्रमणकारी सख्त घाइते भएको जानकारी प्राप्त भएको छ।घटनामा आक्रमणकारी सहित तीनजना विद्यार्थीहरु घाइते भएको समाचारहरुमा जनाइएको छ। एनविसी समाचारका अनुसार घटनाको अनुसंन्धान जारी रहेकोले घटनामा थप अरु विद्यार्थीहरु प्रभावित भए नभएको एकिन भैसकेको छैन। हालस्कुल ‘लक-डाउन’ अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। गोली प्रहारबाट घाइते भएकी विद्यार्थीको परिचय नखुलेको र अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको सुरक्षा अधिकारीहरुले जानकारी गराएका छन्।
घटनाका आरोपितको भने उपचारकोक्रममा मृत्यु भएको सूचना प्राप्त भएपनि सेन्टमेरिज काउण्टी सेरिफ अफिसले केहीक्षणमा गर्ने प्रेस कन्फरेन्स पछि मात्र औपचारिक पुष्टि हुने छ। गत महिना फ्लोरिडाको हाइस्कुलमा १७ जना विद्यार्थीको ज्यान जानेगरी भएको गोलीकाण्ड सेलाउन नपाउँदै फेरी अर्को ‘स्कुल सुटिंग’ को घटनाले अमेरिकामा बन्दुक राख्न पाउने अधिकार र विद्यालय सुरक्षाका बारेमा फेरी चर्को बहस निम्त्याउने निश्चित छ।
घटना भएको स्कुलमा कोही नेपाली विद्यार्थी भए नभएको यकिन नभएपनि एनआरएनए अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीका अनुसार घटनामा कोही नेपाली विद्यार्थीहरु प्रभावित नभएको सूचना प्राप्त भएको छ। सुवेदीले आफ्नो फेसबुक स्ट्याटस मार्फत पनि नेपाली अभिभावकहरुलाई घटनाबारे सचेत रहन र आवश्यकतानुसार सुरक्षाकर्मी र स्कुल प्रशासनसंग समन्वय गर्न सुझाएका छन्।
स्रोत: सिएनविसी
प्रतिक्रिया लेख्नुहोस्:-