काठमाडौँ, ३२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शी जुनले आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चीन सरकारसंग आग्रह गर्नुभयो ।
एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणमा गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा यसलाई थप महत्व दिन आग्रह गर्नुभयो ।
चीन भ्रमणका लागि गृहमन्त्री थापालाई निमन्त्रणासमेत गर्नुभएको जानकारी भेटमा उपमन्त्री जुनले दिनुभयो ।
सो भेटमा गृहमन्त्रालयका उच्चपदस्थ अधिकारीहरु तथा नेपालका लागि चिनियाँ राजदूत यू होङ लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-