Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेरो बाल्यकालको ती दशैंहरु !

पिड.को पालो कुरेर बस्ने ४०-५० जना सम्म हुन्थे

अशोज १५, २०७९ ११:१५ मा प्रकाशित
मेरो बाल्यकालको ती दशैंहरु !
Share on FacebookShare on Twitter
स्वस्ती शर्मा
आमाहरु भन्नुहुन्थ्यो; साउने संक्रान्तीले चाडपर्व बोलाउॅछ अनि माघे संक्रान्तिले चाडवाडको अन्त्य गर्छ। हुनपनि साउने संक्रान्ती पछि कृष्ण जन्माष्टमी, जनैपुर्णिमा, गाईजात्रा, कुशेऔंशि, तिज, सोह्र श्राद्ध, घट्स्थापना, हॅुदै हिन्दुहरुको महान चाड दशैंतिहार छठ पालैपालो आउॅछन्।
दशैं अघि भाद्र शुक्ल पुर्णिमादेखि शुरु हुने सोह्रशाद्धको लागि घरमा प्रयोगमा नआउने या काम नलाग्ने सामान फाल्ने, घर भित्र, चोटाकोठा, बार्दली सबैतिर सफा पारेपछि कमेरो अनि रातो माटोले पोत्ने अनि पिंढिको गारोमा चाहिं चुनले पोतेपछि भुईं लिप्ने काम हुन्थ्यो। हामी छोरिहरु चाहिं एकले आधा गारोमा कमेरो लगाउने, अर्कोले त्यसमा सिधा धर्को मिलाएर तलतल रातो माटोले पोत्ने, एकजनाले रातोमाटो र गोबर मिसाएर भुईं लिप्ने काम गर्थ्यौं। प्रायजसो यो काम हाम्रो स्कुल कलेज छुट्टिको दिनमा गरिन्थ्यो।ममी प्राय कमेरो लगाउनु हुन्थ्यो। गारोमा माथीमाथी कमेरो लाउॅदा सबै चुहिएर काखिसम्म भिज्ने भएकोले काम सकेर ननुहाएसम्म हामी गन्गन् गर्थ्यौं। त्यहि भएर जहिले पनि यसको लागि ममी नै अघि सर्नुहुन्थ्यो। हजुरआमाको काम खाना बनाउने हुन्थ्यो। हजुरआमाको पालामा रातीनै उठेर खाजा बोकेर हिंडेरै भक्तपुरको ठिमी पुगेर कमेरो ल्याउॅदाका सम्झनाहरु सुनाउनु हुन्थ्यो। कमेरो र रातोमाटो जति सुक्दै जान्थ्यो, कोठाहरू त्यतिनै चम्किलो हुने भएकोले सबैकाम सक्दा त घर चिटिक्क अनि मन फुरुंग, दिनभरीको थकान यसै मेटिन्थ्यो।
सोह्र दिनसम्म गाउॅमा प्रत्येक घरमा श्राद्ध हुने भएकोले नजिकको छिमेकीको घरमा पितृ प्रसाद खीर, पुरी, अचार, तरकारी आदान प्रदान हुन्थ्यो। ठूलो चाडवाड तथी विवाह, ब्रतबन्ध, सप्ताह अघि बितेर गएका प्रिय आफन्तलाई सम्झिएर श्राद्ध गर्दा वहॅाहरुको आत्माको शान्ति तथा परिवारमा सधै कुशल मंगल हुन्छ रे। सोह्रदिनसम्म आफ्नो खलकको कसै न कसैको घरमा श्राद्ध परेको हुन्छ भनेर चुलोमा हॅाडी बसाल्न अनि भान्सामा लसुन प्याज, माछामासु, अण्डा खान मनाही थियो।
दशैंको किनमेल शुरु पनि त्यतिबेलै हुने गर्थ्यो। परिवारका सदस्यलाई कपडा, जुत्ता अनि घर तथा भान्साको लागि आवस्यक भॅाडाहरु, टिभी, फर्निचर लगायतका सामान पनि दशैंको बेलामा ल्याउॅदा त्यसको महत्वनै बिशेष हुने रहेछ। बुवा ममी, भ्याउॅदा सम्म किनमेलको लागि भृकुटि मण्डप, असन, न्युरोडसम्म जानुहुन्थ्यो। नभ्याए बनेपा या पनौतीबाट ल्याउनु हुन्थ्यो। हामी प्राय रेडिमेड कपडामा जोड दिन्थ्यौं। तर सिलाउने कपडा ल्याएको बेला गोकुल दाई( प्रिय दाई पोहोर साल स्वर्गीय हुनु भो, आत्माको शान्तिको कामना गर्छु) अनि भाउजु मेसिन लिएर घरमा नै आएर कपडाहरु सिलाईदिनु हुन्थ्यो। हाते मेशिन हुन्थ्यो त्यो बेलाा। लुगा सिलाएको हेर्न धेरै नजिक गयौं भने काम गर्न डिस्टर्ब हुन्थ्यो क्यारे दाईं सियोले घोच्दिउॅ भन्नुहुन्यो हामी डरले कुलेलम ठोक्थ्यौं।एकदिनमा कपडा सिलाउन सकिएन भने वहॅाहरु भोलिपल्ट आउनुहुन्थ्यो। हामी दिदी बहिनी दिपा, ज्योती, भावना, बिनीता, अनि हाम्रा दोस्ती तथी दिदीबहिनीहरु जुना, मुना, जानुका दीदि( प्रीय दीदि यो संसार छोडेर भर्खरै स्वर्गीय हुनुभयो, वहॅाको आत्माले शान्ति पाओस्),  दुर्गा, गोपाल दाई, नमु भाई धारामा या पॅधेरामा जॅादा कस कसको घरमा केके समान आए सबै सुनाउॅथ्यौं।
हामी मांसाहारीको लागि दशैंको मासु चिउरा मुख्य खाजा हुन्थ्यो। ममी सधैंजसो चिउराको लागि अलिकती भएपनि ताईचिन धान लगाउनु हुन्थ्यो। प्राय जेठ महिनामै रोपेको धान दशैंलाई ठिक्क पाक्थ्यो। सबै धान नपाकेपनि १०-१२ पाथी चिउरा हुनेगरी खेतको भित्ता खन्न काटेको धानको बोटै समेत घरमै ल्याएर पिंढीमा चुटेर सिधै चिउरा मिलमा लगेर पिसेर ल्याउनु हुन्थ्यो। धान बेस्सरी नपाकिसकेको हुनाले तातोपानीमा भिजाउनु पर्ने झंझट हुन्नथियो।
चिउरा पिस्न पनौति बजारमा हरीमामा, द्वारिका, डबलि कताकता ४-५ ठाउॅको मिलमा चाहार्नु पर्थ्यो। जहॅा छिटो पालो आउॅछ त्यहिं छोड्ने चलन थियो। धेरैजसो १-२ दिनमा पालो आउॅथ्यो। बिजुली गयो भने त झन् बर्बाद। मान्छेहरु “ यतिका दिन भईसक्यो भारी छोडेको, अझै मेरो पालो आएन” भनेर  झगडा पनि गर्थे। कोहिकोहि त पछि आएर अघि पिस्न पनि खोज्थे। अरुचाहिं “पछि आएर माझमा सुत्न कहॅा पाईन्छ?” भनेर रिसाउॅथे। बल्ल पालो आएपछि कुटेर ल्याएको तात्तातो चिउरा बार्दलीमा फिंजाउॅदा कस्तो मगमग बास्ना आउॅथ्यो। त्यसपछि निफन नाफन पारेर राखिन्थ्यो। त्यस्तै गरी दशैंको लागि नै भनेर आफ्नै घरको तेल प्रयोग गर्न बिशेष रुपमा तोरी सॅाचेर राखिन्थ्यो। प्राय सबैले त्यसै गर्ने भएर तोरी पेल्न पनि ३-४ दिनमा पालो आउॅथ्यो। तोरी पेलिंदै गर्दा मेशिनबाट फनफनी बटारिंदै पिना झरेको हेर्दा कत्ती रमाईलो लाग्थ्यो। संगसंगै कॅाचो तेलको ठ्वास्स राग पनि आउॅथ्यो।
प्राय अशोजको महिना, शरद ऋतु, न गर्मी न जाडो, ठिक्क घाम सिरिरी बतास मीठो लाग्ने। खेतभरी सुनजस्ता पहेंला धानका बाला यता र उता झुलेका, बारीमा मकै भांचेर अलिअलि बांकि रहेका आधा ढोड, कतै तोरी/फापर फुल्दै गरेका, अनि कतै हरियाली कोदो। घर वरिपरी बगैंचामा पहेंलिने क्रममा रहेका सुन्तला/जुनार लटरम्म, अम्बा भुक्लुक्क सुन्निदै गरेका, पहेलपुर हलुवाबेद। बारीको डिलभरी सयपत्री, रंगीचंगि गोदावरी, मखमली अनि अरू फूलहरू ढकमक्क  फुलेका। झन् हाम्रो घरको राताम्मे फुलेको बेगनबेलीले दशैंको खास रौनक दिन्थ्यो। रेडियो, टिभीमा बज्ने मालश्री धुन, शुभकामना सन्देश तथा दशैंका गीतहरुले माहोल रनक्क तताउॅथे। सबैतिरको माहोलले दशैं घरमै आईपुगेको आभाष दिन्थ्यो। रेडियोमा सबैभन्दा बढि सदाबहार नारायण गोपाल र दिलमायाको गीत बज्थ्यो।
“बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,
तिमीलाई भेट्न आउॅदैछु फर्की रमाईलो गाउॅमा”
आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौरथा शुरु भयो भनेर गाउॅका दिदीबहिनी, भाउजु, आमाहरु रातीनै उठेर नजिकको धारा, कुवा, पॅधेरामा गएर नुहाउॅनुहुन्थ्यो। म पनि लहलहैमा लागेर शुरु त गर्थें। तर मेरो नुहाईले कुनैपनि दशैंका ९ दिन पुरा गर्न सकेको याद छैन। अशोज महिना त ठिकठिकै हो तर कार्तिक महिनाको बिहानको ४-५ बजेको चिसोमा आनन्दले सिरकमा गुटुमुटु पर्न छोडेर आ! मलाई के को नौरथा? जस्तो लाग्थयो। घट्स्थापना गर्न सबैभन्दा ॲध्यारो ठाउॅ रोजिन्थ्यो। अनि बारीको चोखो ठाउॅबाट माटो ल्याई हजुरआमा र दाईले धेरै जौमा धान, मकै,गहॅु, केके हो मिसाएर जमरा राख्नुहुन्थ्यो। प्रत्येक दिन बिहान बेलुकै शंख /घण्टको आवाज, सॅाझ आरती गर्दाको गोकुल धुपको सुगन्ध, आहा! कति  रमाईलो। जमरा पहेंलो बनाउन छोपेर राखिन्थ्यो। जमरा राखेकै दिनदेखि कत्रो भयो होला भनेर बिहान बेलुकै हेर्थ्यौं।
घर पोत्ने काम भईहाल्यो, कपडा पनि आए, अरु आवस्यक सामान आए। चिउरा कुटियो, तेल पेलियो। जमरा राखियो। घरमा खसी छैन भने गाउॅबाटै किनेर अघिल्लो दिन घरमा ल्याईन्थ्यो। हाम्रो परिवार पनि ठूलो, दशैंमा टिका लगाउन आउने धेरैजना हुनेहॅुदा प्राय १०-११ धार्नी जतिको खसीको ब्यबस्था हुन्थ्यो। बुबा अशोज कार्तिक महिनाको आफ्नो तलब भत्ता सबैको नयॅानोट साटेर ल्याउनुहुन्थ्यो। बुबाले बर्षैपिच्छे नयॅानोट ल्याउने भएकोले गाउॅका मान्छेहरुले यतिको नयॅा नोट ल्याईदिनु भनेर अगाडिनै भनेका हुन्थे। कोही चाहिं टिकाको दिनसम्म पनि पैसा साट्न घरमा आउॅथे। नयॅा नोट कहिले त आफैंलाई नपुग्ने जस्तो पनि हुन्थ्यो। पुरानो नोटको पनि मुल्य पनि त उति नै हो, तैपनि मान्छेको स्वभाव देखेपछि जे पनि नयॅा चाहिने के। न त त्यसको जतन नै गरिन्छ, टिका लगाएको हातले नोट समाउॅदा अबिर लागेर राताम्मे भईहाल्छ।
दशैं नजिकिदैं जॅादा बिशेषगरि फुलपाती (सप्तमी) को दिन हाम्रो गाउॅ लगाएत कुशादेवी, बिहाबर भेगका महिलाहरू चुरा लाउन भनेर पनौति बजार झर्थे। धागो, टिका, पोते लगाएतका आफुलाई चाहिने सर सामान किनेर हातभरी चुरा लगाएर फर्किन्थे। म पनि दिदीहरुसंग चुरा लगाउन बजार जान्थें।म धेरै चकचके भएर होकी किन हो हजुरआमा ममीले दिदीहरुसंग “सानीबहिनीलाई आलुका चुरा (प्लास्टिकको चुरा) लाईदिनु” भन्नुहुन्थ्यो। मैले माने पो। छिनछिन बजाउन नपाए चुरा लगाको के मज्जा? चुरौटेले एक दर्जनमा एउटा थपेर १३ वटा लाईदिन्थे। दुबै हातमा १३/१३ वटा चुरा लगाएपनि म कति जतन गर्थें की त्यो दिन सॅाझसम्म एउटा हातमा ९-१० वटा चुरा त बॅाकि रहन्थे। मुख्य पीर चाहिं टिकाको दिनसम्म हातमा २-४ वटा पनि चुरा नरहने पो होकी भन्ने हुन्थ्यो। टिका सकेपछि त मेरा हातमा कति चुरा बॅाकि छन् कति फुटे कसलाई के मतलब।
सबै कुराको चटारो यहि दशैंमा। घरमा भएका हतियारहरु; कुटो, कोदालो, कोदाली, चॅादे, हॅसिया, खुर्पा, खुकुरी, चक्कु, बन्चरो आदिलाई बिश्वकर्माको लगेर सॅाद लगाएर ल्याईन्थे। काठमाडौंबाट ल्याएको रे भनेर घरमा अलिकति फूलपाती आउॅथ्यो। त्यसलाई नवदुर्गालाई चढाईन्थ्यो क्यारे!
नौरथा लागेपछि नै माथि पिपलको रुखमा पिड. हाल्न गाउॅको दाई, साथीभाईहरुले घरघरबाट बाबियो उठाउनु हुन्थ्ययो। अनि पिड. बाट्नु हुन्थ्यो। हामी फूलपातीको दिन बिहानदेखिनै बाटोमा झर्ने जोसुकै भटेपनि, माथि पिपलको रुखमा पिड. हाल्या छ? भनेर सोधेको सोध्यै गर्थ्यौं। जब हालेको थाहा पाउॅथ्यौं तव गुटुटु कुधेर सामान्यतया ३-४ मिनेट लाग्ने बाटोमा एक मिनेटमै पुग्थ्यौं। तर पिड. खेल्ने ठाउॅमा यति भिड हुन्थ्यो कि मुस्किलले ३-४ घण्टामा एकपटक पालो आउॅथ्यो। बल्ल पालो आएर ढिकीच्याउॅ गर्दै जब पिड. मच्चाउन थाल्यो, आफूलाई मच्चिन पुगेकै हुन्नथ्यो, “लल पुग्यो, अरुको पनि पालो पुर्याउनु पर्छ पिड.बाट झर” भन्थे। प्रिय साथी जुना र म जोडी खेल्थ्यौं। हामी दुईजना  खेल्दा त दोब्बर समय खेल्न पाउनु पर्छ नी। अति नै कराएपछि फेरी अर्को पटक पालो नदेलान् भन्ने डरले झर्थ्यौं। हुनपनि पिपलको रुखमुनी पिड.को पालो कुरेर बस्ने ४०-५० जना सम्म हुन्थे। पालो नपाएको झोंकमा कोही काम्रो खोसेर दिनै मान्दैनथे। अबको पालोमा खेल्न पाईने शर्तमा मात्रै फिर्ता दिन्थे। एकपटक पिड. रोकिंदा मेरो पालो मेरो पालो भनेर पिड.मा झुण्डिने ५-७ जना सम्म पनि हुन्थे। एउटाको पालो पुगन्जेल सम्म झगडा पर्थ्यो। फेरी पछि बल्ल बल्ल कुरा मिल्थ्यो। कसैलाई चाहिं आउने बित्तिकै पालो चाहिने। १-२ घण्टादेखि पिड.मा पालो कुरेर बस्नेहरुचाहिं “तिमी राजा हो र” भनेर थर्काउॅथे। कोहि त झेली गरेर पालो मिचेको भनेर झगडा र कुटाकुट सम्म पनि गर्थे। पिड. खेल्नकै लागि हामी देउराली, सल्लाको डॅाडोमा लॅाकुरीको रुख, अनि टौखाल, खत्री गाउॅ सम्म पनि पुग्थ्यौं।
 पिड. खेल्ने बहानामा हामी फुत्त फुत्त घरबाट भाग्थ्यौं। तर कारण थियो, पिड.को बहानामा लंगुर बुर्जा खेल्नु। लंगुर बुर्जाको ५-७ वटा खालहरु पिपलको रुख संगै बाटोमा लहरै हुन्थे। शुरुमा आफैसंग भएको पैसाको खेलिन्थ्यो। पान र ईंटामा मोहोर मोहोर हाल्यो, चिड दोब्बर, बुर्जा तेब्बर परेपछि कसरी अगाडी बढ्ने? ज्योति दिदी त मैले भन्दा दोब्बर हार्थीन। आफ्नो पैसा सकिएपछि ममीसंग खुसुक्क मागेर खेल्ने  अनि त्यो १०-१५ रुपैंयॅापनि सबै स्वाहा भएपछि कि बुबाको सर्टको खल्ति वा टिकाको लागि छुट्याईएको नयॅानोट लुसुक्क २-४ वटा पॅाच दशका नोट हराउॅदा बुबा केही भन्नुहुन्नथ्यो। दाई र बुबापनि बर्ष दिनमा यसो अलिअलि खेल्ने त हो नी भनेर दशैं तिहारमा भ्याएसम्म तास खेल्नु हुन्थ्यो। जुवा तास खेल्ने मान्छेले कहिले पनि पैसा जित्छ र? एकपछि अर्को खालमा जित्ने मृगतृष्णमै जुवाडेले घरबार खत्तम पारेका कुरा गाउॅतिर सुनिन्थे। जित्ने त जुवा खेलाउनेले मात्रै हो रे। यदाकदा तासमा जितेको बेला बुवा घर आएर यति जितें भनेर हामीलाई पैसा बॅाड्नुहुन्थ्यो। तर अरुबेला कति हार्नुभयो भनेर खोजीनिति गर्दैनथ्यौं। हामी लंगुर बुर्जामा हार्ने बुबादाईहरु तासमा। जितेका भए हौसिएर सुनाउॅदा हौ, तर दुबैथरी हरुवाहरु हारका कुरा किन सुनाउनु ? तैं चुप मै चुप।
हाम्रो घरमा प्राय अष्टमीको दिन खसी काटिन्थ्यो। घरमा खसी छैनभने गाउॅ या बनेपाबाट खसी किनेर ल्याईन्थ्यो। अष्टमीको दिन बिहानदेखिनै खसी काट्ने चहलपहल शुरु हुन्थ्यो।ॲागनको एक छेउमा ईंटाको चाड. लगाएर बुबाले अस्थाई चुलो बनाउनु हुन्थ्यो। हजुरआमाले मज्जाले सुकेका चिर्पट दाउरा छुट्याएर पिंढिमा राखिदिनु हुन्थ्यो। हामी एउटाले पानी छोड्न पाईन्नथ्यो। सबैभन्दा ठूलो भॅाडोमा पानी बसालिन्थ्यो। उम्लिएपछि गाउॅका एकजना ठूलाबाले खसी मार हानेर जानुहुन्थ्यो। खसी मार हान्ने बेलामा हामीलाई हेर्न दिंईदैनथ्यो। खसी काटीसकेपछि टाउको लगेर जमराको छेउमा अरु हतियार संगै राखेर पुजा गरिन्थ्यो। त्यो पनि हजुरआमाले नहेर्नु है भन्नु हुन्थ्यो। हामी भुराले हेरेनौं होला त? यो हेर्नै नहुने के रहेछ भनेर बुबा र दाई भएर पर्खालमा प्लाष्टिक ओछ्याएर खसी खुईल्याउनु हुन्थ्यो। एउटाले दिउरेमा लगेर बेलाबेलामा तातोपानी हालिदिनु पर्थ्यो। खुईल्याई सकेपछि छालामा बेसार दलेर पहेंलपुर पार्नुहुन्थ्यो ।अनि काटकुट शुरु हुन्थ्यो। त्यति नै बेला ममीले रक्ति चिउरा टपरीमा हालेर खाजा ल्याउनु हुन्थ्यो। बुबाले एक एक गरेर खसीको मुटू, कलेजो, फोक्सो, मृगौला छुट्याउॅदै देखाउनु हुन्थ्यो। स्वास्थ्य शिक्षा पढ्ने हामीपनि खसीको एनाटोमीको मान्छेसंग तुलना गर्दै चाख मानेर हेर्थ्यौं। आन्द्रा भुंडी चाहिं मल खाल्डोको नजिक गएर धेरै बेर लगाएर सफा गरिन्थ्यो। म पानी हालिदिने दाई सफा गर्ने। सयपत्री भन्ने भागको पत्रैपत्र कहिले सफा गरी नसकिने। भॅुडिचाहिं तौलिया जस्तै। घॅाटि र पुच्छर भाग दिनको लागि छुट्याईन्थ्यो। टाउको, आन्द्रा भॅुडी, भित्रीहॅास, खुट्टा र अरु मासु भनेर छुट्टाछुट्टै दिनभर बुबा ममी बसेर पकाउनुहुन्थ्यो।
नवमीको दिन अलिक समय हुन्थ्यो। खाने खेल्नेमै दिन बित्थ्यो। तर बिहानै चिया पिएर गाउॅकै महांकाल थानमा जमरा चढाउनु पर्ने भएकोले पुजा सामान लिएर पुजा गर्न गईन्थ्यो। सबैभन्दा मन नपर्ने कुरा चाहिं हजुरआमाले देबीको पुजा गर्न भनेर हामीलाई चामखर जमरा र पुजाको सामान लिएर पठाउनु हुन्थ्यो। दर्शन ढुंगालाई देबी मानेर पुजा गर्ने ठाउॅसंगै हाम्रो बारी पनि थियो। दशैंको दिनमा पनि नाक ठोसिने उकालो चढेर चामखर जाने भन्दा हामी रिसाउॅथ्यौं तैपनि नगई सुखै थिएन। त्यहॅा पुगिसकेपछि अलिअलि घॅास काटेर ल्याए हुन्थ्यो भन्ने आमाहरुको ईच्छा हुन्थ्यो। हुनपनि मान्छेको पो त चाडबाड, बिचरा गाई भैंसि ले पनि त खानु पर्यो नी। तर खुसीको कुरा के थियो भने त्यहॅा लाकुरीको रुखमा पिड. हुन्थ्यो। यता गाउॅमा जस्तो भिड हुदैनथ्यो। हात खुट्टा गलन्जेल सम्म खेल्न पाईन्थ्यो। तैपनि गाउॅको भिडमा बल्ल पालो पाएर खेल्दाको रमाईलो भने हुन्नथियो। डॅाडाभरी दर्शन ढुंगा कुन कुनमा पुजा गर्ने हो, त्यतिबेला मलाई देबकोटाको यात्री कबिता याद आउॅथ्यो। फेरी पुजा नगरेको चाहिंले मन दुखाउने पो हो की, ढुंगाको मन हुन्छ कि हुन्न हो? फेरी देबी रे के हो के हो। भ्याए जतिलाई अबिर, केशरी, अक्षता, जौ/तिल, फूल अनि नपुगलाई अबिर दलदाल पार्थ्यौं।दिदीहरुले त्यतिन्जेल घॅासको डोको भरिसक्थे अनि त्यो दिन र भोलिपल्टको मिठामिठा योजना बनाउॅदै घर फर्किन्थ्यौं। कहिलेकाहिं ठिक्क दशैंअघि धान काट्ने बेला हुन्थ्यो। धान काटेको/चुटेको ३-४ दिनमा परीलको मुठा बॅाध्नुपर्ने हुन्थ्यो। काम गर्ने मन नभएपनि बुबाले “मासु पचाउछ ल हिंड सबैजना परालको मुठा बॅाध्न जाउॅ” भनेर हामीलाई हौस्याउनु हुन्थ्यो, अनि दशैंको बेलाका हामी ५-६ घण्टा लाग्ने काम ३-४घण्टामै सकाएर फर्किन्थ्यौं।
अन्तिम दिन बिजया दशमी, असत्यमाथि सत्यको बिजय भएको दिन। बिहानदेखि कोही खाना बनाउने, कोही टिका लगाउन बस्ने ठाउॅ सुकुल/गुन्द्री/ राडी/ गलैंचा मिलाउने, कोही ध्यानपुर्वक टिकाको सामाग्री अक्षता, अबिर, दही, धानको फूल, चिनी मिलाएर मुछ्ने। आकाशै छोउॅला झैं गरेर लहलह भएका पहेंलै जमरा मिलाएर काट्नुपर्थ्यो।शुभ साईतमा हजुरआमाले बुबा ममी म दाई दिदीहरु, अंकल आण्टि, भाई बहिनीहरु सबैलाई पालैपालो टिका लगाईदिनु हुन्थ्यो। त्यसपछि खाना खाएर हामी सबैजना हल्ला खल्ला गर्दै खेतको बाटो भएर पारीघर जान्थ्यौं। बुबाहरुको जन्मघर, ममी बिहेमा भित्रीएको घर, जुन १९९० सालको महाभुकम्पमा पनि ढलेको थिएन रे। त्यहॅा पुग्दा बेग्लै खुसी र आनन्द मिल्थ्यो। टिका लगाउॅदा कान्छि हजुरआमाले भट्याएको “जयन्ति मंगलाकाली ,,,,,,,, “  मन्त्र सुनेरै मलाई पनि कण्ठ भएको जस्तो लाग्छ। हलुवाबेदको रुख चढेर कट्मिरो हलुवाबेद झार्थ्यौं हामी। मुख बिटुलो पार्ने भनेर मासु, दहि, चिउरा, केरा खाएर कान्छो हजुरबुवा, माईलो हजुरबुवा अनि बुढी हजुरआमा (बुवाको कान्छि हजुरआमा) को घरमा एवंरितले टिका लगाएपछि हतार हतार गरेर दक्षिणा गन्दै घर फर्किन्थ्यौं।
हाम्रो परिवार ठूलो भएकोले पालो पालो गरेर मामाघर गईन्थ्यो। म त सधैंको सानीबहिनी बुबा ममीसंगै मामाघर जान्थें। मान्छेहरु दशैंको बेला रातीसम्म टिका लाउन हिंड्थे। पनौती बससपार्कमा काठमाडौं जान एकपटकमा ५/७ वटा सम्म बसहरु क्युमा हुन्थे तर खुट्टा टेक्ने ठाउॅ पाउन मुस्किल हुन्थ्यो। एकपटक त हामी ट्रकमा उभिएर पनि बनेपासम्म गएका थियौं। बनेपादेखि नाला मुलाबारी लामिछाने गाउॅसम्म लगभग डेढघण्टा जति हिंडेर जानुपर्थ्यो। कहिलेकहिं त बनेपा देखिनै टहटह जुनले मामाघर सम्मनै पछ्याउॅथ्यो। त्यतिबेला हाम्रो पनौतीको आकाशमा देखिने चन्द्रमा र त्यो हामीलाई मामाघर सम्मै उज्यालो दिने चन्द्रमा एउटै होला र? जस्तो लाग्थ्यो। राती प्यारो हजुरआमाको हातबाट टिका लगाएपछि खाना खाएर सुतिन्थ्यो। भोलिपल्ट उठेर बॅाकि मामाघर अनि कान्छो हजुरबुवा घरमा टिका लाएर फर्किने गरिन्थ्यो। नाला भेगका तरेली परेका बारीमा लगाईएका आलुको हरियालीले जो कोहिलाई पनि मन्त्रमुग्ध बनाउॅथ्यो। मामाघरदेखि तलको सपनेश्वर स्कुलमा पिड. हालिएको हुन्थ्यो। दिदीबहिनीहरु (शसी, मिरा, मिना, अनुपमा, शुस्मा, कल्पना) संग एकछिन भएपनि पिड. खेल्न जॅादा भान्जी भनेर जाने बित्तिकै पालो दिन्थे।नातीनातीना समेत भईसकेका पॅाचजना मामाहरुको संयुक्त परिवारमा टिका ग्रहण गर्नेको ठुलै भिड हुन्थ्यो। मामाघरमा दिदी भिनाजुहरु, छोराछोरीहरु, ममीका अरु आफन्तसंग भेट्न पाईन्थ्यो। टाढा भएकोले ठुलो ममीको घर जान नमिलेपनि ठुलोममी दाई दिदी बहिनीहरुसंग मामाघर मै भेट हुन्थ्यो। यता घरमा पनि दिदी भिनाजु, छोराछोरीहरु, फुपूदिदीहरु, फुपाजु, भान्जिदिदी, बहिनीहरु, भान्दाई, भाईहरु, बुबाका अरु आफन्तहरु आउनुहुन्थ्यो। मामाघरबाट फर्केपछि बॅाकिरहेको तल्लो माथ्लो घरमा टिका लगाएर औपचारिक रुपमा अन्तिम चरणको दक्षिणा गन्ने काम हुन्थ्यो। त्यो सबै पैसा ममीलाई राख्न दिईन्थ्यो “पहिला यति थियो अब यति भयो” भनेर। हिसाब त पक्का गर्न पर्र्यो नी। बर्षौं सम्म कति पैसा राख्न दिईयो। न आजसम्म ममीले त्यसको सावॅा देखाउनु भो न ब्याजको हिसाब नै। अहिले पो यो कुरा याद भो त। सॅाच्चै कति भो होला हगी? हल्का रमाईलो।
यो मेरो बाल्यकालको नित्तान्त ब्यक्तिगत भोगाई अनि सम्झनहरु हुन्। समय धेरै परिबर्तन भएको छ। आफू पनि बिदेशी भईयो कति कुरा तपाईंहरको भोगाईसंग पनि मेल खान्छ होला। ब्यस्त समयका बाबजुद पनि समय निकालेर पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त्यमा, बिजया दशमी २०७९ सालको उपलक्ष्यमा यहॅाहरुको परिवारमा उन्नति, प्रगति, सुख, शान्ति, सामाजिक सद्भाव तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना
साउथ सान्फ्रान्सिस्को, क्यालिफोर्निया

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result