मनाङ, १ चैत / मनाङ नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा जीवन बिताउँदै आएकी ७७ वर्षीया आनी छोमा लामालाई आधुनिक रहनसहनले कहीँ कतै छोएको छैन । उनी नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।
विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीहरुसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको र उनीहरुकै आड भरोसामा जीवन व्यतित गर्दै आएको उनी बताउँछिन् ।
सानैदेखि दःुख भोग्दैआएकाले आज सम्म पनि दुःखमै रमाउन सकेको उनी सगर्व बताउँछिन् ।
उनी भन्छिन् – “पहिला चौंरी पालेकी थिएँ । चौरीले खान दिएन । अहिले लुलु गाई छन् । यिनीहरु डुलाएर दिन काटिरहेकी छु ।”
उनका अनुसार यी गाई पनि बहिनीहरुले दिएका ‘पेवा’ हुन् ।
उनलाई धेरै वर्ष पहिला तिब्बतबाट भागेर लुक्न आएका खम्वा विद्रोहीहरुले दिएको पीडाको राम्रैसँग सम्झना छ ।
आफू जन्मिएको घर देखाउँदै आनीले भनिन् – “हामी यही घरमा जन्मिएका हौं । तिब्बतबाट भागेर आएका खम्वाहरुले हामीलाइ धेरै दुःख दिए । हामीले बनाएका घर भत्काइदिए । चौंरीहरु मारिदिए ।” उनीहरुले यहाँका दिदीबहिनीहरुलाई दुव्र्यवहार गरेको पनि उनी सम्झिन्छिन् ।
सरकारले तपार्इंहरुलाई सहयोग गरेको छ नि भनेर जानकारी दिन खोज्दा उनी अनभिज्ञता प्रकट गर्छिन् । उनी भन्छिन् – “थाहा छैन । हामी त गोठमा बस्छ, खेतिपाती गर्छ ।”
तपाईहरु जस्ता महिलाहरु देशका ठूल्ठूला मान्छे बनेका छन् नि भन्ने भनाइमा उनी भन्छिन् – “हामीलाई त मिथेवाले भत्ता दिन्छ । गाउँमा सबै काम उसले नै गर्छ ।” गाउँको सरकार नै मिथेवा भएको उनी बताउँछिन् ।
आनी अति दुर्गम भेगमा बस्ने नेपाली महिलाहरुको एक प्रतिनिधि पात्र हो । देशमा के भइरहेको छ र सरकार कसको हो भन्नेसम्म नब्झेका यी महिलाहरुको जीवन दुःख र मेहनत मै बितिरहेको छ । आनी जस्ता महिलालाई कसले दिलाइदिन्छ अधिकार ? कसले पु¥याइदिन्छ सरकारी भत्ता ? नीति निर्माताहरुको अब ध्यान पुग्नुपर्छ ।रासस
प्रतिक्रिया लेख्नुहोस्:-