नयाँ प्रहरी महानिरीक्षक को होला भन्ने अड्कलबाजीकाबीच बरिष्ठताक्रमको एक नम्बरमा रहेका नायब प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै महानिरीक्षक नियुक्त भएका छन्। भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले खनाललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्राय नयाँ महानिरीक्षक नियुक्ति हुने बेला हुने राजनीतिक रस्साकस्सी यो पाली पनि चलेको बजारहल्ला ब्यापक थियो। व्यवसायिक दक्षता र कार्यसम्पादनमा खनालको जत्तिकै हैसियत बनाएका अर्का सेलिब्रिटी डीआईजी रमेश खरेल पनि महानिरीक्षकको लागि संभावित व्यक्ति थिए।
यस अघिको सरकारले प्रहरी महानिरीक्षकको नियुक्तिमा गरेका राजनीति संभवत पहिलेका कुनै सरकारहरुले गरेको थिएन होला र त्यही नियुक्ति बिवादले सर्वोच्चको तत्कालिन प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेसम्मको हर्कत तत्कालीन सत्तारुढ दलले गरेको थियो।
बिभिन्न आशंकाहरुलाई पन्छाउँदै अब नेपाल प्रहरीको २६ औं महानिरीक्षकमा सर्वेन्द्र खनाल बढुवा भएका छन्। २०४६ माघ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरीसेवामा प्रवेश गरेका खनाल महानगरीय अपराध अनुसन्धान महाशाखामा रहँदा गुन्डा-नाइके कुमार घैँटेको २०७२ साल भदौ ३ गते भएको प्रहरी इन्काउन्टरको नेतृत्व लिएका कारण चर्चामा आएका थिए।नेपाल प्रहरीमा निडर र प्रभावशाली प्रहरीको छवी बनाएका खनाल गुन्डागर्दी, आर्थिक ठगी र म्याच फिक्सिंग लगाएत खेलकुद क्षेत्रमा देखिएका अपराधका विषयहरुमा गरेका उल्लेखनीय कामका कारण जनताहरुबीच निकै लोकप्रिय छन्।
यसैबीच शसस्त्र प्रहरी महानिरीक्षकमा सरकारले शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको छ।
फोटो: कान्तिपुर
प्रतिक्रिया लेख्नुहोस्:-