काठमाडौँ, ३१ असार / नेपाल कला परिषद्को हलमा प्रथम दक्षिण एशियाली अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०१८ आजदेखि शुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा दुई दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीमा सार्क क्षेत्रका पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत, भुटान, नेपाल तथा श्रीलंकाका ७९ कलाकारका ८५ चित्रकला प्रदर्शनमा राखिएका थिए ।
सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चित्रकलाले देशको पहिचान दिइरहेको उल्लेख गर्दै कला क्षेत्रको विकास गर्न सरकार सकारात्मक भएको बताउनुभयो ।
उहाँले नेपालका तीन प्रज्ञा–प्रतिष्ठानलाई व्यवस्थापन गरी कला क्षेत्रलाई टेवा दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला क्षेत्रको अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको जानकारी दिनुभयो ।
नाफाका उपकुलपति शारदा चित्रकार तथा सदस्यसचिव नवराज भट्ट तथा बंगलादेशका वरिष्ठ कलाकार असरफुल अलाम पप्लीलगायतका वक्ताले कला क्षेत्रको विकास तथा दक्षिण एशियाका कलाको महत्वमाथि चर्चा गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-